काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा पुगेका केही नेता तथा कार्यकर्ताको राजनीतिक पृष्ठभूमिबारे टिप्पणी गरेका छन्।
कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन समारोहमा बोल्दै थापाले रास्वपा सभापति रवि लामिछानेले कांग्रेसका केही नेता–कार्यकर्ताले रास्वपालाई मत दिएको प्रसंग उठाएपछि त्यसको जवाफ दिएका हुन्।
थापाले संसद्भित्र हेर्दा ४०–५० जना व्यक्तिलाई कांग्रेसले राजनीतिक रूपमा प्रशिक्षित गरेर पठाएको दाबी गरे।
उनले रास्वपाको उपसभापतिदेखि तल्लो तहसम्म हेर्दा विगतमा कांग्रेसका राजनीतिक कार्यक्रममा सहभागी भएका र कांग्रेसकै मञ्चबाट राजनीतिक संस्कार सिकेका धेरै व्यक्ति रहेको बताए।
‘हिजो कांग्रेसकै मञ्चमा ताली बजाएर गएका साथीहरू थुप्रै हामीले प्रशिक्षित गरेर पठाएका छौँ,’ थापाले भने, ‘त्यसका बारेमा पनि केही छैन, यता राम्रा–राम्रा कुरा सिकाएर पठाएका छौँ।’
रविले कांग्रेसका केही नेता तथा कार्यकर्ताले रास्वपालाई मत दिएको प्रसंग उठाएपछि थापाको यस्तो प्रतिक्रिया आएको हो।
थापाले दलहरूबीच राजनीतिक प्रतिस्पर्धा स्वाभाविक भए पनि देशका महत्वपूर्ण विषयमा संवाद र सहकार्य आवश्यक रहेको बताएका छन्।