काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय देखिएका बाढीपहिरोलगायत विपद्को व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर काम भइरहेको बताएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा प्रधानमन्त्री शाहले भदौ १० गतेयता विपद् व्यवस्थापनको काम निरन्तर भइरहेको बताएका हुन्।
बैठकमा गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीहरूको समेत सहभागिता थियो।
प्रधानमन्त्री शाहले उपलब्ध स्रोतसाधन र जनशक्तिको परिचालन गरेर विपद् व्यवस्थापनको कामलाई तीव्रता दिइएको बताए। उनले मुख्यमन्त्रीहरूलाई विपद् व्यवस्थापनको विषयमा ढुक्क रहन आग्रहसमेत गरे।
उनले भोटेकोशी–त्रिशूली, गण्डकीलगायत विभिन्न क्षेत्रमा आएको बाढीपहिरोबाट भएको क्षतिको अध्ययन गरी आवश्यक व्यवस्थापनको काम अघि बढिरहेको जानकारी दिए।
प्रधानमन्त्री शाहले विपद्को जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणालीलाई थप सुदृढ बनाउने तयारी भइरहेको पनि बताए। हिमपहिरोको जोखिम न्यूनीकरणका लागि समेत आवश्यक काम अघि बढाइएको उनको भनाइ थियो।
बैठकमा प्रधानमन्त्री शाहले विपद्का बेला आफ्नो ज्यान जोखिममा राखेर उद्धार तथा व्यवस्थापनमा खटिएका राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक तथा राजनीतिक दलका प्रतिनिधिलगायत सबैप्रति आभार व्यक्त गरे।