एजेन्सी । अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीले राष्ट्रिय टोलीबाट आफ्नो अन्तिम खेल यादगार बनाउँदै भावुक बिदाइ पाएका छन्।
बुधबार बिहान सम्पन्न मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले बेनिनलाई ३–० गोलले पराजित गर्दा मेस्सीले एक गोल गर्नुका साथै दुई गोलका लागि निर्णायक पास दिए।
स्टाडियो मोनुमेन्टलमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफमा भने अर्जेन्टिनाले लगातार उत्कृष्ट प्रदर्शन गर्दै तीन गोल गरेको हो।
४८औँ मिनेटमा निकोलस ओटामेन्डीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। त्यसपछि ६०औँ मिनेटमा निको पाजले गोल गर्दै टोलीको अग्रता २–० बनाए।
७०औँ मिनेटमा मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै अर्जेन्टिनाको जित ३–० ले सुनिश्चित गरे। अन्तिम खेलमै गोल र दुई असिस्ट गरेका मेस्सीलाई मैदानमा उपस्थित समर्थकले भावुक हुँदै बिदाइ गरे।
मेस्सीले यसअघि नै अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय फुटबल करियर अन्त्य गर्ने घोषणा गरिसकेका थिए। सन् २००५ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका उनले २०८ खेलमा १२६ गोल गरेका छन्।
१२६ गोलसहित मेस्सी अर्जेन्टिनाका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी हुन्। अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा भने उनी क्रिस्टियानो रोनाल्डोपछि दोस्रो स्थानमा छन्। रोनाल्डोले पोर्चुगलका लागि १४६ गोल गरेका छन्।