काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि सरकारले अस्थायी आवास निर्माण गर्ने भएको छ।
भदौ १० गतेको बाढीबाट प्रभावित परिवारलाई तत्काल आवासको व्यवस्था गर्न विकास साझेदार संघसंस्था तथा स्थानीय तहसँगको सहकार्यमा ट्रान्जिसनल सेल्टर निर्माण गर्ने निर्णय गरिएको हो।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा मंगलबार बसेको बैठकले पुनर्निर्माणमा सहयोग गर्न इच्छुक विकास साझेदार संघसंस्थालाई आफूले कुन पालिकामा कति घर निर्माण गर्ने हो भन्ने विवरण प्राधिकरणलाई उपलब्ध गराउन आह्वान गरेको छ।
बैठकको निर्णयअनुसार सहयोगी संस्थाले नेपाल सरकारले उपलब्ध गराएको जग्गामा तोकिएको मापदण्डअनुसार घर निर्माण गर्नुपर्नेछ।
यस्तै, बाढीबाट प्रभावित वास्तविक लाभग्राही परिवारको संख्या यकिन गर्न स्थानीय तहलाई विवरण संकलन गरी पठाउन पत्राचार गर्ने निर्णयसमेत बैठकले गरेको छ।
लाभग्राहीको विवरण प्राप्त भएपछि आवश्यक संख्याअनुसार अस्थायी आवास निर्माणको प्रक्रिया अघि बढाइनेछ।