विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई दशौँपटक मानार्थ विद्यावारिधिबाट सम्मान गरिएको छ।

साहित्य तथा संगीत क्षेत्रमा पुर्‍याएको योगदानको सम्मान गर्दै किर्गिस्तानस्थित आईएलपीएमएस विश्वविद्यालयले उनलाई मानार्थ ‘डाक्टर अफ ह्युमन लेटर्स (डीएचएल)’ उपाधि प्रदान गरेको हो।

भारतको राजस्थानस्थित इन्टरनेसनल सेन्टर, जयपुरमा आयोजित विशेष समारोहमा विश्वविद्यालयका प्रतिनिधिसहित विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा डा. उपाध्यायलाई मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरिएको थियो।

समारोहमा राजस्थानका उपमुख्यमन्त्री डा. प्रेम चन्द बैरवा प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा राजस्थान विधानसभाका सभामुख वासुदेव देवनानी, पूर्व सदस्य अशोक परनामी, सदस्य बालमुकुन्दाचार्य, राज्यमन्त्री एकता अग्रवाल, एक्सक्लुसिभ वर्ल्ड रेकर्ड्सका ब्रान्ड एम्बेसेडर डा. राम सिंह चौहान तथा पद्मश्री पुरस्कार विजेता एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डा. एम. वलीलगायतको उपस्थिति थियो।

विश्वविद्यालयले प्रदान गरेको प्रमाणपत्र तथा सम्मानपत्रमा डा. उपाध्यायको साहित्य र संगीत क्षेत्रको योगदान, उपलब्धि, समर्पण तथा सामाजिक प्रभावको प्रशंसा गरिएको जनाइएको छ। समारोहमा प्रदान गरिएको स्मृतिचिह्नमा पनि साहित्य तथा संगीत क्षेत्रमा उनको विशिष्ट योगदान र उपलब्धिको कदर गरिएको उल्लेख छ।

समाजशास्त्रमा सन् २००० मा विद्यावारिधि गरेका डा. उपाध्यायले यसअघि विभिन्न नौ विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि प्राप्त गरिसकेका छन्। आईएलपीएमएस विश्वविद्यालयबाट प्राप्त उपाधि उनको दशौँ मानार्थ विद्यावारिधि भएको जनाइएको छ।

गीतसंगीत तथा साहित्यका विभिन्न विधामा सक्रिय डा. उपाध्यायले हालसम्म १५३ वटा विश्व कीर्तिमान कायम गरेको बताइएको छ। उनका १७ भन्दा बढी उपन्यास, तीन गीति पुस्तक तथा ३६ वटा एल्बम प्रकाशित तथा सार्वजनिक भएका छन्। उनका करिब २५० गीत सार्वजनिक भइसकेका छन् भने सयौँ गीतका भिडियोसमेत निर्माण भएका छन्।

उनको पछिल्लो उपन्यास ‘आशक्ति’ र कवितासंग्रह ‘अन्तसंस्करण’ हुन्। यसैगरी उनका ‘श्रीराम’ र ‘हरे कृष्ण’ भजनसमेत हालै सार्वजनिक भएका छन्।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply