धनकुटामा स्कर्पियो दुर्घटनापछि ३४१ किलो गाँजा बरामद, एक जना पक्राउ

धनकुटामा स्कर्पियो दुर्घटनापछि ३४१ किलो गाँजा बरामद, एक जना पक्राउ

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारमा स्कर्पियो दुर्घटनापछि प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।

बुधबार राति करिब ११ः५५ बजे भेडेटारस्थित स्काईवाक नजिकैको भित्री सडकमा ढुङ्गेबाट भेडेटारतर्फ आउँदै गरेको बा १३ च ६२७५ नम्बरको स्कर्पियो सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटना भएको थियो।

दुर्घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रहरी नायब निरीक्षक भीमबहादुर श्रेष्ठको कमान्डमा टोली घटनास्थल पुगेको थियो। प्रहरीले दुर्घटनाग्रस्त स्कर्पियोभित्र बोरामा प्याक गरी राखिएको ३४१ किलोग्राम गाँजा फेला पारी बरामद गरेको जनाएको छ।

दुर्घटनामा परेको गाडीभित्र भने कोही फेला नपरेको प्रहरीले जनाएको छ। घटनास्थल आसपास शंकास्पद अवस्थामा भेटिएका मोरङ विराटनगर महानगरपालिका–९ घर भई हाल सुनसरीको धरान उपमहानगरपालिका–१० बस्दै आएका ३९ वर्षीय अमित विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार बरामद गाँजा र स्कर्पियो गाडीलाई नियन्त्रणमा लिएर विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply