काठमाडौं । तिहारअन्तर्गत आज नेवार समुदायले म्हः पूजा मनाउँदैछन्। साथै आज गोवर्धन पूजा र गोरु पूजा पनि गरिँदै छ। आजैदेखि नेपाल संवत् ११४७ सुरु भएको छ।
नेवार समुदायमा म्हः पूजालाई विशेष महत्त्वका साथ मनाउने गरिन्छ। ‘म्हः’ को अर्थ शरीर भएकाले यस दिन आफ्नै शरीर र आत्माको पूजा गरी सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति र समृद्धिको कामना गर्ने परम्परा छ।
म्हः पूजाका अवसरमा परिवारका सदस्यहरू एकै ठाउँमा भेला भई आ–आफ्नो मण्डप बनाएर पूजा गर्छन्। मण्डपमा विभिन्न सामग्री सजाएर पूजा गर्ने, सगुन ग्रहण गर्ने र परिवारका सदस्यबीच शुभकामना आदानप्रदान गर्ने चलन छ। यस पर्वले आत्मसम्मान, पारिवारिक एकता र सकारात्मक जीवनको सन्देश दिने विश्वास गरिन्छ।
त्यस्तै, आज गोवर्धन पूजा पनि मनाइँदै छ। धार्मिक मान्यताअनुसार भगवान् श्रीकृष्णले गोकुलवासीलाई इन्द्रको प्रकोपबाट बचाउन गोवर्धन पर्वत उठाएको सम्झनामा गोबरबाट गोवर्धन पर्वतको आकृति बनाई पूजा गर्ने परम्परा छ।
कृषि तथा ग्रामीण जनजीवनमा महत्त्वपूर्ण योगदान पुर्याउने गोरुको सम्मानमा आज गोरु पूजा पनि गरिन्छ। गोरुलाई नुहाइदिने, टीका लगाउने, फूलमाला पहिर्याउने र मिठा परिकार खुवाएर पूजा गर्ने चलन छ।
म्हः पूजा र नेपाल संवत्को नयाँ वर्षले नेवार समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानलाई जीवन्त राख्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। यी पर्वले प्रकृति, पशुपक्षी र आफ्नै जीवनप्रति सम्मान तथा कृतज्ञता व्यक्त गर्ने सन्देशसमेत दिन्छन्।