युक्रेन युद्ध अन्त्यका लागि रुस र युक्रेनबीच केही लचकता देखिएको अमेरिकी अधिकारीको दाबी

युक्रेन युद्ध अन्त्यका लागि रुस र युक्रेनबीच केही लचकता देखिएको अमेरिकी अधिकारीको दाबी

काठमाडौं । युक्रेन युद्ध अन्त्य गर्ने प्रयासस्वरूप रुस र युक्रेनले पूर्वी क्षेत्रको नियन्त्रणसम्बन्धी विवादमा निजी छलफलका क्रममा केही लचकता देखाएको अमेरिकी अधिकारीहरूले बताएका छन्।

युद्ध अन्त्यका विषयमा छलफल गर्न रुस, युक्रेन र अमेरिकाबीच पहिलो त्रिपक्षीय वार्ता संयुक्त अरब इमिरेट्सको अबुधाबीमा हुने तयारी भइरहेका बेला अमेरिकी अधिकारीहरूको यस्तो भनाइ सार्वजनिक भएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुश्नर र विशेष शान्ति दूत स्टिभ विटकफसहितको टोली वार्तामा सहभागी हुँदैछ। कुश्नरले युद्धपछिको सुरक्षा व्यवस्थाबारे रुस र युक्रेनका चासोलाई सम्बोधन गर्ने विषयमा छलफल केन्द्रित हुने बताएका छन्।

उनले सामाजिक सञ्जाल एक्समार्फत युद्धपछि कस्तो अवस्था निर्माण हुन्छ भन्ने विषयमा सबै पक्षले गम्भीरतापूर्वक सोच्नुपर्ने धारणा व्यक्त गरेका छन्।

यद्यपि युद्ध अन्त्य गर्ने आधारभूत विषयमा रुस र युक्रेनबीच मतभेद कायमै छ। विशेषगरी पूर्वी युक्रेनको डोनेट्स्क क्षेत्रको बाँकी भूभागको नियन्त्रणलाई लिएर दुवै पक्षको अडान फरक छ। रुसले युक्रेनको नियन्त्रणमा रहेको डोनेट्स्कको बाँकी भूभाग पनि छाड्नुपर्ने माग गर्दै आएको छ। युक्रेन भने हालको युद्धविराम रेखालाई कायम राख्दै आफ्नो नियन्त्रणमा रहेको क्षेत्र जोगाउन चाहन्छ।

अमेरिकी अधिकारीहरूका अनुसार सार्वजनिक रूपमा दुवै पक्षले आ–आफ्नो अडान कायम राखे पनि निजी छलफलमा केही लचकता देखाएका छन्। तर युद्धपछिको सुरक्षा संरचनाबारे सहमति नभएसम्म डोनेट्स्कलगायत क्षेत्रीय विवाद समाधान गर्न कठिन हुने उनीहरूको भनाइ छ।

प्रस्तावित सुरक्षा संरचनामा सुरक्षा परामर्श, संकटका बेला प्रत्यक्ष संवाद गर्न हटलाइनको व्यवस्था तथा दुवै पक्षबाट तनाव कम गर्ने उपाय समावेश छन्। सन् २०२२ देखि निष्क्रियप्रायः रहेको नेटो–रुस परिषद् पुनः सक्रिय बनाउने विषयसमेत छलफलमा उठाइएको छ।

युक्रेनले भविष्यमा रुसबाट पुनः आक्रमण भए सहयोगी राष्ट्रहरूले साथ दिने सुरक्षा प्रत्याभूति खोजिरहेको छ। रुस भने पूर्वी युरोपमा नेटोको प्रभाव विस्तार रोक्नुपर्ने आफ्नो पुरानै मागमा अडिग छ। यस विषयले युरोपेली मुलुकहरूमा समेत सुरक्षा चिन्ता बढाएको छ।

युरोपेली संघकी अध्यक्ष उर्सुला भोन डर लेयेनले युरोपको सुरक्षा संरचनासम्बन्धी अर्थपूर्ण छलफलमा नेटोका सहयोगी तथा युरोपेली संघका सदस्य राष्ट्रलाई सहभागी गराउनुपर्ने बताएकी छन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि वार्तामा युरोपको सहभागिता आवश्यक रहेको धारणा राख्दै आएका छन्।

अमेरिकी अधिकारीहरूले वार्तालाई बहुपक्षीय स्वरूपमा अघि बढाउँदै युरोपेली मुलुकलाई समेत सहभागी गराउने प्रस्ताव राख्ने बताएका छन्। तर रुसले युरोपेली मुलुकहरूको सहभागिताप्रति असहजता जनाउन सक्ने आकलन गरिएको छ।

यसअघि जेनेभामा भएको त्रिपक्षीय वार्ता कुनै ठोस सहमतिबिना टुंगिएको थियो। त्यसपछि अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण अमेरिकी प्रशासनको ध्यान युक्रेनबाट अन्यत्र मोडिएको र थप वार्ता हुन नसकेको अवस्था थियो।

यसैबीच, युक्रेनी सांसद तथा संसदीय विदेश मामिला समितिका प्रमुख ओलेक्सान्दर मेरेझ्कोले अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनको हितलाई प्राथमिकता नदिई छिटो सम्झौता गर्न खोजेको आशंका व्यक्त गरेका छन्। उनका अनुसार रुसमाथि प्रतिबन्ध र सैन्य दबाब बढाए मात्र राष्ट्रपति भ्लादिमिर पुटिन वास्तविक वार्ताका लागि तयार हुन सक्छन्।

अबुधाबीमा हुने वार्तामा रुसका तर्फबाट क्रेमलिनका सहयोगी भ्लादिमिर मेदिन्स्की, उपविदेशमन्त्री सर्गेई र्‍याबकोभ र मिखाइल गालुजिनसहितका अधिकारी सहभागी हुनेछन्। युक्रेनका तर्फबाट पनि राष्ट्रिय सुरक्षा तथा कूटनीतिक वार्तामा संलग्न वरिष्ठ अधिकारीहरू सहभागी हुने जनाइएको छ।

वार्ताको तयारी भइरहँदा रुसले युक्रेनका ऊर्जा पूर्वाधार तथा विभिन्न क्षेत्रमा आक्रमण जारी राखेको छ। अमेरिकी टोलीका कुश्नरले भने अबुधाबी वार्ताबाट तत्काल अन्तिम सहमति हुने अपेक्षा नराखिएको र आगामी चरणको वार्ताका लागि आधार तयार पार्नु मुख्य उद्देश्य रहेको बताएका छन्।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply