काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो पर्व तिहारअन्तर्गत आज बुधबार भाइटीका मनाइँदैछ। यमपञ्चकको अन्तिम दिन अर्थात् कात्तिक २५ गते दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरङ्गी टीका लगाएर दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै भाइटीका पर्व मनाउन लागेका हुन्।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष भाइटीका लगाउने उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा निर्धारण गरेको छ। समितिका अनुसार साइत खोज्नेहरूका लागि उक्त समय उत्तम रहे पनि मध्याह्नकालमा टीका लगाउन कुनै बाधा नरहेको बताइएको छ। त्यसैले सर्वसाधारणले दिनभर भाइटीका लगाउन सक्नेछन्।
परम्पराअनुसार यस वर्ष भाइटीका लगाउँदा दिदीबहिनी पूर्व फर्किएर र दाजुभाइ पश्चिम फर्किएर बस्नुपर्ने बताइएको छ। राज्यका विशिष्ट पदाधिकारीलाई भने निर्धारित शुभसाइतमै टीका ग्रहण गर्न सुझाव दिइएको छ।
भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरङ्गी टीका लगाई मखमली र सयपत्री फूलको माला पहिर्याउने तथा ओखर, फलफूल र मिठाईलगायतका परिकार दिने चलन छ। दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाई उपहार तथा दक्षिणा दिने परम्परा छ।
धार्मिक मान्यताअनुसार यस दिन यमराज आफ्नी बहिनी यमुनाको निमन्त्रणामा उनको घरमा पुगेको र यमुनाले दाजुको पूजा गरी दीर्घायुको कामना गरेको विश्वास गरिन्छ। यही परम्परासँग जोडिएर भाइटीका पर्व मनाउने गरिएको हो।
भाइटीकासँगै पाँच दिनसम्म मनाइने यमपञ्चक पनि आज सम्पन्न हुँदैछ। दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, आत्मीयता र पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाउने पर्वका रूपमा भाइटीकालाई लिइन्छ।