सलमान खानको फिल्म ‘मातृभूमि’मा अनूप विक्रम शाहीको दमदार लुक, ट्रेलरमा देखिए चिनियाँ सैन्य अधिकारीको भूमिकामा

सलमान खानको फिल्म ‘मातृभूमि’मा अनूप विक्रम शाहीको दमदार लुक, ट्रेलरमा देखिए चिनियाँ सैन्य अधिकारीको भूमिकामा

काठमाडौं । नेपाली अभिनेता अनूप विक्रम शाही बलिउड सुपरस्टार सलमान खान अभिनीत आगामी हिन्दी फिल्म ‘मातृभूमि : मे वार रेस्ट इन पिस’ मा फरक र आकर्षक अवतारमा देखिएका छन्।

फिल्मको सार्वजनिक ट्रेलरमा शाही चिनियाँ जनमुक्ति सेनाका मेजरको भूमिकामा देखिएका छन्। ट्रेलरमा उनको सलमान खानसँग पटक–पटक आमनेसामने हुने दृश्य समावेश छन्। युद्धको पृष्ठभूमिमा तयार गरिएको फिल्ममा शाहीको उपस्थितिले नेपाली दर्शकमाझ पनि चासो बढाएको छ।

निर्देशक अपूर्व लाखियाको निर्देशनमा बनेको यस फिल्ममा सलमान खान भारतीय सेनाका अधिकारीको भूमिकामा छन् भने चित्रांगदा सिंह उनकी श्रीमतीको भूमिकामा देखिनेछिन्। फिल्ममा सैनिक जीवन, पारिवारिक सम्बन्ध र युद्धले निम्त्याउने मानवीय पीडालाई समेत प्रस्तुत गरिएको छ।

निर्देशक लाखियाका अनुसार विश्वका विभिन्न स्थानबाट कलाकारको अडिसन लिएपछि शाहीलाई उक्त भूमिकाका लागि छनोट गरिएको हो। नेपाली फिल्म क्षेत्रमा ‘हसिया’, ‘कृ’ लगायतका चलचित्रबाट परिचित शाहीका लागि यो बलिउडमा महत्वपूर्ण प्रवेशका रूपमा हेरिएको छ।

यसअघि ‘ब्याटल अफ गलवान’ नामबाट चर्चामा रहेको फिल्मको नाम परिवर्तन गरी ‘मातृभूमि : मे वार रेस्ट इन पिस’ राखिएको हो। सन् २०२० मा भारत र चीनका सैनिकबीच पूर्वी लद्दाखको गलवान क्षेत्रमा भएको झडपबाट प्रेरित फिल्म डिसेम्बर ४, २०२६ मा प्रदर्शन गर्ने तयारी छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply