काभ्रे । काभ्रेको बनेपामा दुई यात्रुवाहक बस एकआपसमा ठोक्किँदा २५ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था मध्यम रहेको छ भने अधिकांशको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
बिहीबार (कात्तिक २६) बिहान करिब ११ः४० बजे धुलिखेलबाट बनेपातर्फ आउँदै गरेको बा ५ ख २९७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको बा ३ ख ५०६४ नम्बरको बस आपसमा ठोक्किएका हुन्।
दुर्घटनामा घाइते भएका २१ जनालाई उपचारका लागि बनेपास्थित शीर मेमोरियल अस्पताल र चार जनालाई धुलिखेल अस्पताल पठाइएको थियो।
शीर मेमोरियल अस्पतालमा उपचाररत घाइतेमध्ये टाउको, अनुहार, हातखुट्टा, छाती तथा मुखमा चोट लागेका छन्। उनीहरूमध्ये केहीको अवस्था मध्यम र अन्यको सामान्य रहेको छ। धुलिखेल अस्पतालमा उपचाररत चारै जनाको अवस्था सामान्य रहेको विवरणमा उल्लेख छ।
घाइते हुनेमा काभ्रे, सिन्धुपाल्चोक, खोटाङ, काठमाडौं र सिन्धुलीका यात्रु रहेका छन्। घाइतेमध्ये बालबालिका तथा किशोरकिशोरीसमेत छन्।
दुर्घटनामा संलग्न दुवै बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।