काठमाडौं । विश्वकै अग्रणी चिप निर्माता कम्पनी एनभिडियाका सहसंस्थापक तथा अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले पदबाट राजीनामा दिएका छन्। कम्पनीमा ३३ वर्ष नेतृत्व गरेका ६३ वर्षीय हुआङले नोभेम्बर १२ मा तत्काल लागू हुने गरी अध्यक्ष, सीईओ र सञ्चालक समिति सदस्य पदबाट राजीनामा दिएका हुन्।
हुआङको राजीनामासँगै कम्पनीको नेतृत्वमा ठूलो परिवर्तन आएको छ। एनभिडियाकी कार्यकारी उपाध्यक्ष तथा प्रमुख वित्तीय अधिकृत (सीएफओ) कोलेट क्रेसलाई अन्तरिम सीईओको जिम्मेवारी दिइएको छ। कम्पनीले स्थायी सीईओ नियुक्तिका लागि आन्तरिक तथा बाह्य उम्मेदवारको खोजी गर्ने जनाएको छ। त्यस्तै, हार्भे सी. जोन्सलाई सञ्चालक समितिको पहिलो अध्यक्ष नियुक्त गरिएको छ।
राजीनामाको पृष्ठभूमिमा व्यक्तिगत सम्बन्ध र जासुसी आशंका
हुआङको राजीनामा सार्वजनिक हुनुअघि उनको व्यक्तिगत सम्बन्ध र राष्ट्रिय सुरक्षासँग जोडिएका विषयले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चा पाएका थिए। विशेषगरी विवाहबाहिरका सम्बन्धसम्बन्धी खुलासा र चिनियाँ गुप्तचर संस्थासँग सम्बन्ध रहेको आशंका गरिएकी एक व्यवसायीसँगको सम्बन्धका समाचारले उनको नेतृत्वमाथि प्रश्न उठाएको थियो।
नोभेम्बर ८ मा हुआङले एनभिडियाका कर्मचारीलाई पठाएको सन्देशमा आफूले पत्नीप्रति बेइमानी गरेको स्वीकार गरेका थिए। उनले आफ्नो व्यवहारले पत्नी र सन्तानलाई चोट पुगेको भन्दै माफी मागेका थिए। आफ्नो कार्यको जिम्मेवारी आफूले लिने र परिवारको विश्वास पुनः जित्ने प्रयास गर्ने उनको भनाइ थियो।
यसैबीच, सिंगापुरस्थित प्रविधि कम्पनी मेगास्पिडकी पूर्वकार्यकारी एलिस हुआङसँग जेन्सेनको सम्बन्ध रहेको समाचार सार्वजनिक भएको थियो। एलिस हुआङ चिनियाँ नागरिक हुन् र जेन्सेन हुआङसँग उनको पारिवारिक सम्बन्ध छैन। अमेरिकी गुप्तचर अधिकारीहरूले एलिसको चिनियाँ गुप्तचर संस्थासँग सम्बन्ध रहेको आशंका गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। यद्यपि, उनी जासुसीमा संलग्न रहेको आरोप पुष्टि भएको छैन।
त्यस्तै, एनभिडियाकी वरिष्ठ उपाध्यक्ष किम्बर्ली पावेलसँग पनि हुआङको सम्बन्ध रहेको अर्को रिपोर्ट सार्वजनिक भएको थियो। पावेल कम्पनीमा हुआङअन्तर्गत काम गर्ने उच्च अधिकारी रहेको बताइएको छ। यी समाचार सार्वजनिक भएपछि कम्पनीको नेतृत्वमा स्वार्थको द्वन्द्व र आन्तरिक सुशासनसम्बन्धी प्रश्न उठेका थिए।
सञ्चालक समितिद्वारा स्वतन्त्र अनुसन्धान
यी घटनाक्रमपछि नोभेम्बर ८ मा एनभिडियाको सञ्चालक समितिले हुआङ विदेशी गुप्तचर प्रयासको निशानामा परेको भन्ने समाचारको पृष्ठभूमिमा स्वतन्त्र अनुसन्धान सुरु गरेको थियो। स्वतन्त्र सञ्चालकहरूको समितिले बाह्य कानुनी सल्लाहकारको सहयोगमा अनुसन्धान गर्ने कम्पनीले जनाएको थियो।
अनुसन्धानमा राष्ट्रिय सुरक्षा र कम्पनीका गोप्य सूचनासम्बन्धी विषयसमेत जाँच गरिने बताइएको थियो। हुआङले पनि अनुसन्धानलाई समर्थन गर्दै पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।
यसैबीच, थप व्यक्तिगत सम्बन्धसम्बन्धी आरोप सार्वजनिक भएपछि सञ्चालक समितिले हुआङको भविष्यबारे छलफल गरेको रोयटर्सलगायतका सञ्चारमाध्यमले जनाएका छन्। सञ्चालक समितिले उनलाई पदबाट हटाउने सम्भावनासमेत विचार गरेको समाचार सार्वजनिक भएको थियो। त्यसको भोलिपल्ट कम्पनीले उनको राजीनामा घोषणा गरेको हो।
तर एनभिडियाले राजीनामाको आधिकारिक कारण खुलाएको छैन। कम्पनीको आधिकारिक घोषणामा हुआङको ३३ वर्षे योगदानको प्रशंसा गर्दै धन्यवाद दिइएको छ। कम्पनीले राष्ट्रिय सुरक्षा वा आफ्ना गोप्य सूचना प्रभावित भएको विश्वास गर्ने आधार नरहेको यसअघि नै जनाएको थियो।
३३ वर्षमा एनभिडियालाई एआई प्रविधिको अग्रणी कम्पनी बनाए
जेन्सेन हुआङले सन् १९९३ मा क्रिस मालाचोस्की र कर्टिस प्रिमसँग मिलेर एनभिडिया स्थापना गरेका थिए। उनको नेतृत्वमा कम्पनी ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) निर्माण गर्ने संस्थाबाट कृत्रिम बुद्धिमत्ता (एआई), डेटा सेन्टर र उच्च क्षमताका कम्प्युटिङ चिप उत्पादन गर्ने विश्वकै प्रभावशाली प्रविधि कम्पनीमध्ये एक बनेको थियो।
एनभिडियाका चिपहरू अहिले एआई मोडेलको प्रशिक्षण, डेटा सेन्टर र विभिन्न उच्च क्षमताका कम्प्युटिङ प्रणालीमा व्यापक रूपमा प्रयोग हुँदै आएका छन्। कम्पनीको तीव्र विस्तारसँगै हुआङ प्रविधि क्षेत्रका प्रभावशाली नेतृत्वकर्तामध्ये एक बनेका थिए।
उनको राजीनामाले एनभिडियाको नेतृत्व मात्र होइन, विश्वव्यापी एआई उद्योग र अमेरिकी प्रविधि तथा राष्ट्रिय सुरक्षा नीतिसँग जोडिएका विषयमा समेत चासो बढाएको छ। कम्पनीले भने नेतृत्व परिवर्तनका बाबजुद आफ्ना व्यावसायिक गतिविधि, ग्राहक प्रतिबद्धता र उत्पादन योजनामा अवरोध नआउने जनाएको छ।