भीमफेदी दुर्घटनाका मृतक परिवारलाई क्षतिपूर्ति दिने प्रक्रिया अघि बढ्यो

भीमफेदी दुर्घटनाका मृतक परिवारलाई क्षतिपूर्ति दिने प्रक्रिया अघि बढ्यो

काठमाडौं । सरकारले मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाका घाइतेको उपचार र मृतकका परिवारलाई क्षतिपूर्ति तथा बिमा रकम उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार कात्तिक २६ गते बिहीबार बिहान काठमाडौं–सर्लाही रुटमा सञ्चालन भएको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको सवारीसाधन अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खस्दा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए।

दुर्घटनामा ज्यान गुमाउनेमध्ये १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका र एक जना चालक कविलासी नगरपालिकाका बासिन्दा रहेको विज्ञप्तिमा उल्लेख छ। उनीहरू छठ पर्व मनाउन घर जाने क्रममा दुर्घटनामा परेका थिए।

सरकारले घाइतेको उपचारलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ। उपचाररत घाइतेहरूको स्वास्थ्योपचारमा कुनै कमी हुन नदिन सम्बन्धित अस्पताललाई आवश्यक निर्देशन दिइसकिएको विज्ञप्तिमा उल्लेख छ। घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भएका छन् भने बाँकी तीन जनाको चितवनस्थित मनकामना अस्पताल र ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा प्रचलित बिमा कानुनअनुसार घाइतेहरूको उपचार खर्च र मृतकका परिवारले पाउने क्षतिपूर्ति तथा बिमा रकम यथाशीघ्र उपलब्ध गराउन सम्बन्धित सवारीधनी, यातायात व्यवसायी र बिमा कम्पनीसँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाइएको सरकारले जनाएको छ।

यसैगरी, दुर्घटनाको वास्तविक कारण पहिचान गर्न र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझावसहितको प्रतिवेदन तयार पार्न मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।

सरकारले दुर्घटनाका पीडित परिवारलाई आवश्यक सहयोग तथा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली, शोकाकुल परिवारजनमा समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply