विश्व प्रहरी सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ यूएई प्रस्थान

विश्व प्रहरी सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ यूएई प्रस्थान

काठमाडौं । गृहमन्त्री सुदन गुरुङ विश्व प्रहरी सम्मेलनमा सहभागी हुन शुक्रबार साँझ संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन्। यूएई सरकारको औपचारिक निमन्त्रणामा उनी दुबई जान लागेका हुन्।

गृहमन्त्री गुरुङ शुक्रबार साँझ ७ बजे त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ। सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, सुरक्षा प्रविधिमा भइरहेका नवीन विकास तथा अपराध नियन्त्रणका प्रभावकारी उपायबारे छलफल हुनेछ।

सम्मेलनमा रक्षा तथा सङ्कट व्यवस्थापन, ड्रोन तथा स्वचालित रोबोट, प्रहरी सेवामा कृत्रिम बौद्धिकता (एआई), साइबर अपराध, डिजिटल ठगी, क्रिप्टोकरेन्सीमार्फत हुने वित्तीय अपराध, आपराधिक अनुसन्धान र आधुनिक फरेन्सिक प्रविधिलगायत १४ वटा विषयगत क्षेत्रमा छलफल हुने कार्यक्रम छ।

त्यसैगरी लागुऔषध तथा सङ्गठित अपराध नियन्त्रण, सीमा सुरक्षा, स्मार्ट सुरक्षा प्रणाली र भूउपग्रहमा आधारित गुप्तचरी तथा अन्तरिक्ष सुरक्षाका विषय पनि सम्मेलनको प्राथमिकतामा रहनेछन्।

भ्रमणका क्रममा गृहमन्त्री गुरुङले यूएईसहित विभिन्न देशका आन्तरिक मामिला मन्त्री तथा सुरक्षा निकायका प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।

भेटवार्तामा मानव बेचबिखन, आप्रवासी तस्करी तथा साइबर अपराध नियन्त्रणका लागि प्राविधिक सहकार्य, सुरक्षा अनुभव र विशेषज्ञता आदानप्रदान गर्ने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply