सम्पदा चोरी तथा क्षति न्यूनीकरण गर्न काठमाडौं महानगर र नमुना फाउन्डेसनबीच समझदारी

सम्पदा चोरी तथा क्षति न्यूनीकरण गर्न काठमाडौं महानगर र नमुना फाउन्डेसनबीच समझदारी

काठमाडौं । काठमाडौं महानगरपालिका र नमुना फाउन्डेसनबीच सांस्कृतिक सम्पदामा हुने क्षति, चोरी तथा अवैध ओसारपसार नियन्त्रण र हराएका सम्पदाको खोजी तथा पुनःप्राप्तिका लागि सहकार्य गर्ने समझदारी भएको छ।

महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल र सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल र नमुना फाउन्डेसनका अध्यक्ष रविन्द्र पुरीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

समझदारीअनुसार काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक सम्पदाको संरक्षण, जीर्णोद्धार, मर्मतसम्भार, अभिलेखीकरण र सुरक्षा प्रवर्द्धनका क्षेत्रमा दुवै पक्षले सहकार्य गर्नेछन्।

त्यसैगरी, सम्पदा क्षेत्रका महत्वपूर्ण मूर्ति, कलाकृति तथा अन्य ऐतिहासिक वस्तुको चोरी र अवैध ओसारपसार नियन्त्रण गर्न तथा हराएका सम्पदाको पहिचान, अभिलेखीकरण र पुनःप्राप्तिका लागि आवश्यक काम गरिनेछ।

कार्यवाहक प्रमुख सुनिता डंगोलले समुदायको क्षमता विकास र चेतना अभिवृद्धि गर्दै काठमाडौंको सांस्कृतिक पहिचान संरक्षण गर्ने उद्देश्यले सहभागितामूलक कार्यक्रम सुरु गरिएको बताइन्।

समझदारीले काठमाडौंका सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षणमा स्थानीय समुदायको सहभागिता बढाउनुका साथै सम्पदासम्बन्धी अपराध न्यूनीकरण र हराएका वस्तु पुनःप्राप्तिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply