सर्लाही । वडा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँसभाबाट नीति तथा कार्यक्रम पारित गरेको आरोपमा सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन राय पक्राउ परेका छन्।
५५ वर्षीय रायलाई प्रहरीले आज दिउँसो करिब ५ बजे बसबरिया गाउँपालिका–१ स्थित उनकै निवासबाट पक्राउ गरेको हो। सरकारी कागजात किर्ते गरेको आरोपमा परेको उजुरीमाथि अनुसन्धान गर्ने क्रममा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार २०८० असार १० गते आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न गाउँसभा आयोजना गरिएको थियो। उक्त सभामा अनुपस्थित रहेकी एक वडा सदस्यको हस्ताक्षर किर्ते गरेर नीति तथा कार्यक्रम पारित गरिएको भन्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा उजुरी परेको थियो।
उजुरीका आधारमा सरकारी कागजात किर्तेसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानकै क्रममा सर्लाही जिल्ला अदालतबाट २०८३ असोज १६ गते पक्राउ अनुमति प्राप्त भएपछि गाउँपालिका अध्यक्ष रायलाई पक्राउ गरिएको हो।
प्रहरीले पक्राउ परेका रायमाथि सरकारी कागजात किर्तेसम्बन्धी आरोपमा थप अनुसन्धान गरिरहेको जनाएको छ।