मोरङ । मोरङका विभिन्न सीमावर्ती क्षेत्रबाट भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरिएको १० लाख रुपैयाँभन्दा बढी मूल्यको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ।
२०८३ मंसिर १ गते सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङ तथा सीमा सुरक्षा गुल्म रानीबाट खटिएको टोलीले सीमावर्ती क्षेत्रमा निगरानी तथा गस्ती गर्ने क्रममा उक्त सामान नियन्त्रणमा लिएको हो।
बरामद सामग्रीमा मोटर पार्ट्स, खुर्सानी, धागो र चाइनिज नासपाती रहेका छन्। सामान ओसारपसारमा प्रयोग गरिएका एक थान मोटरसाइकल, एक थान स्कुटर र भारतीय नम्बर प्लेट भएको एक थान इलेक्ट्रिक स्कुटरसमेत नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएका सामान तथा सवारीसाधनको कुल मूल्य १० लाख ३० हजार ४५० रुपैयाँ बराबर रहेको छ। आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएका सबै सामग्री सम्बन्धित निकायमा बुझाइएको जनाइएको छ।