सुर्खेत । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा कोशी प्रदेशले लुम्बिनी प्रदेशलाई ४–१ गोलले पराजित गरेको छ। शुक्रबार बिहान सम्पन्न खेलमा एक खेलाडीले रातो कार्ड पाएर मैदान छाडे पनि कोशीले सहज जित निकालेको हो।
कोशीको जितमा मिलन राईले दुई गोल गरे। अमित सन सतार र सौरभ लिम्बूले थप एक–एक गोल गर्दै टोलीको जित सुनिश्चित गरे। लुम्बिनीका फागुराम चौधरीले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
खेलको ५८औँ मिनेटमा कोशीका प्रकाश भुजेलले रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भएको थियो। रातो कार्डका कारण उनी आगामी एक खेलमा सहभागी हुन पाउने छैनन्।
यस जितसँगै कोशीले प्रतियोगितामा चार अंक जोडेको छ। पहिलो खेलमा बागमती प्रदेशसँग बराबरी खेलेको कोशीले दोस्रो खेलमा जित हासिल गरेको हो। यता, त्रिभुवन आर्मी क्लबसँग पहिलो खेल हारेको लुम्बिनीले कोशीसँग पनि पराजय बेहोरेपछि लगातार दोस्रो हार व्यहोरेको छ।
आजै हुने दोस्रो खेलमा बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो २ः३० बजे सुरु हुने तालिका छ।