काठमाडौँ । संस्कारभित्रका सुक्ष्म विषयको ज्ञान हुने तथा त्यस्ता ज्ञानको प्रवर्धन गर्ने अगुवाहरुको सम्झना गरिएन भने संस्कृतिको मर्म हराउने कुरामा संस्कृतिविद्हरुले चिन्ता व्यक्त गरेका छन् । नेपाल मण्डलभित्रका नागरिकको धर्म, संस्कार र यसका अमूर्त पक्षलाई मूर्त बनाउन सक्ने क्षमता भएका व्यक्तिबाट समयमा ज्ञान लिन सकिएन भने भोलि त्यो अवसर गुम्न सक्नेप्रति उनीहरुले सचेत गराएका हुन् ।
यस्ता चिन्ताहरु समय समयमा प्रकट हुने गरेका छन् । यस क्रममा बुधबार, प्रेमपूर्ण कर्माचार्यको सम्झनामा प्रकाशित “जिँ म्हस्युम्ह” अर्थात् “मैले चिनेको” नामक स्मृतिग्रन्थ लोपार्पण गर्दै अगुवाहरुले चिन्ता दोहो¥याए ।
सो अवसरमा बोल्दै अखिल नेपाल भिक्षु महासंघ संघ उपनायक ज्ञानपूर्णिक महास्थवीरले सामाजिक अगुवाले देखेका र भोगेको कुरामा चर्चा गर्न सके पुस्तामा ज्ञान पु¥याउन सजिलो हुने बताउनुभयो । समारोहमा बोल्दै, शताव्दीपुरुष डा. सत्यमोहन जोशीले संस्कृतिको भेउ पाउने थोरै मान्छेमध्ये प्रेमपूर्ण कर्माचार्य भएको बताउनुभयो । वौद्ध दर्शनमा आधारित सांगीतिक नाटकको संयोजन गरेर देशी विदेशीमाझ वौद्ध धर्मको प्रभाव विस्तारमा कर्माचार्यको योगदान अतुलनीय रहेको बताउँदै उहाँले कान्छा बज्रचार्य, न्हुच्छेबहादुर डंगोललगायतका कलाकारसँग कर्माचार्यको सम्बन्धको गहिराई र यसले कला प्रवर्धनमा पारेको सुक्ष्म प्रभाव केलाउनु भएको थियो ।
स्मृति ग्रन्थ्मा सत्यमोहन जोशी, भृगुराम श्रेष्ठ, कवि दूर्गालाल श्रेष्ठ, शिक्षाविद् लक्ष्मण राजवंशी, शान्तदास मानन्धर, पद्मरत्न तुलाधर, प्राध्यापक सुवर्ण शाक्य, सहप्राध्यापक न्हुच्छेबहादुर डंगोल, मल्ल के सुन्दर, प्राध्यापक माणिकलाल श्रेष्ठ, हास्य कलाकार मदनकृष्ण श्रेष्ठ, गाउक प्रेमध्वज प्रधान, योगेश वैद्यलगायत समाजमा क्षेत्रगत रुपमा अगुवाई गर्ने ४२ जना लेखकले कर्माचार्यको सामाजिक जीवनमा चर्चा गरेका छन् ।-चन्द्रमणि भट्टराई
Add Comment