स्वास्थ्य र शिक्षा सबै नागरिकले समान रुपमा पाउनुपर्छ : अध्यक्ष दाहाल

स्वास्थ्य र शिक्षा सबै नागरिकले समान रुपमा पाउनुपर्छ : अध्यक्ष दाहाल

चितवन, २५ चैत ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकार भएकाले सबैले समान ढंगबाट यो अधिकारको उपयोग गर्न पाउनुपर्ने बताउनु भएको छ । भरतपुर अस्पतालको ५५औँ वार्षिकोत्सवलाई आज यहाँ सम्बोधन गर्दै उहाँले संविधानमा नै शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकार भनेर उल्लेख गरिएकाले अबको समृद्ध नेपाल हुँदै गर्दा शिक्षा र स्वास्थ्य आम जनताको पहुँचमा हुनुपर्ने बताउनुभयो ।
पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “हाम्रो लक्ष्य पूर्वाधार मात्रै नभएर आत्मसम्मान सहितको समृद्धि हो ।” पूर्वाधारमा समृद्ध रहेका मुलुकका जनतामा पनि वितृष्णा देखिएको भन्दै उहाँले पूर्वाधार निर्माणले मात्रै समृद्धि नआउने बताउनुभयो । वैज्ञानिक शिक्षाको अभावमा अन्धविश्वासका कारण अहिले पनि ठूला आपराधिक घटना पनि हुने गरेको भन्दै उहाँले मानिसलाई आत्मसम्मानका साथ बाँच्न सक्ने गरी शिक्षा र स्वास्थ्य पु¥याउनुपर्ने बताउनुभयो । गरिब मुलुक भएकाले विदेशमा जाँदा नेपालीले अपमानित हुनुपरेको भन्दै उहाँले अब नेपाल समृद्ध बन्ने र नेपाली आत्मसम्मानका साथ बाँच्न पाउने बताउनुभयो । दलहरुबीचमा एकता भएका बेला नेपालका सबैखाले उपलब्धि हासिल भएको भन्दै उहाँले अब देशको समृद्धिका लागि पनि दलबीचमा समझदारी र सहमति आवश्यक रहेको बताउनुभयो ।
स्वास्थ्य क्षेत्रमा काम गर्ने चिकित्सक र कर्मचारीको जीविकोपार्जन हुन सक्ने सुविधा राज्यले दिनुपर्ने भन्दै उहाँले त्यसो भएमा मात्रै उनीहरुको दिमाग र ध्यान संस्थाप्रति समर्पित बनाउन सकिने बताउनुभयो । चितवन ‘मेडिकल सिटी’का रुपमा विकास हुँदै गएको भन्दै उहाँले रोगहरु पनि यही बढ्दै गएकाले रोगको अनुसन्धान केन्द्र विकास गर्नुपर्ने र त्यस केन्द्रको नेतृत्व भरतपुर अस्पतालले लिनुपर्ने बताउनुभयो । यसअघि आफू प्रधानमन्त्री हुँदा स्वास्थ्य क्षेत्रमा नीतिगत रुपमा नै महत्वपूर्ण काम भएको उहाँको भनाइ थियो । कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले पाँच वर्षभित्र समृद्धि नेपाल हुँदै गर्दा आम नेपालीले शिक्षा र स्वास्थ्यमा समान सुविधा पाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कुन परिवार र वर्गमा जन्मियो त्यही आधारमा शिक्षा र स्वास्थ्य हुनु हुँदैन । सबैले समान रुपमा उपभोग गर्न पाउनु पर्छ ।”
उहाँले सुखी र समृद्ध नेपाल बनाउने सरकारको परिकल्पना पूरा हुँदै गर्दा आम नेपालीले आत्मसम्मानका साथ बाँच्न पाउनुपर्ने बताउनुभयो । पूर्वाधार विकासको लक्ष्य नभएर माध्यम भएको बताउँदै नेपाली काँग्रेसका नेता थापाले आम नेपालीले सुखी र समान अवसर पाएका बेला मात्रै देश समृद्ध हुने बताउनुभयो । कार्यक्रममा प्रदेश सांसद विजय सुवेदी, नेकपा (एमाले) चितवनका उपाध्यक्ष तेजेन्द्र खड्का, नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, माओवादी केन्द्रका जिल्ला इन्चार्ज ईश्वरी भट्टराई, भरतपुर अस्पतालका पूर्वअध्यक्ष बद्री तिमिल्सिनालगायतले अस्पतालले पछिल्लो समय गरेका कामको प्रशंसा गर्नुभएको थियो ।
सो अवसरमा अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारी र मेडिकल सुपरिटेण्डेण्ट डा रुद्र मरासिनीले अस्पतालले गरेका कामको बारेमा जानकारी गराउँदै देखिएका चुनौती समाधान गर्न सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । सो अवसरमा अध्यक्ष दाहालले सिटी स्क्यान, हेमोडाइलासिस सेन्टर, अक्सिन उत्पादन गृह र बहिरंग सेवा भवनको उद्घाटन गर्नुभएको थियो । विसं २०१३ सालमा १५ शय्याबाट शुरु गरिएको अस्पतालमा हाल ६०० शय्या रहेका छन् । दैनिक एक हजार ५०० हाराहारी बिरामीले अस्पतालबाट बहिरंग सेवा लिँदै आएका छन् । अस्पतालमा चितवनसहित छिमेकी २२ जिल्लाबाट उपचारका लागि बिरामी आउने गर्दछन् ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply