विविध

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीद्वारा पदबहाली

काठमाडौँ, ३ माघ । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले आज पद बहाली गर्नुभयो । सञ्चारग्रामस्थित समितिको केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच अध्यक्ष पराजुलीले पदबहाली गर्नुभएको हो । मन्त्रिपरिषद्को गत पुस २८ गतेको बैठकले पराजुलीलाई समितिको अध्यक्षमा दुई वर्षका लागि नियुक्त गरेको हो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले योग्य र सञ्चार क्षेत्र बुझेको व्यक्तिले समितिको नेतृत्व पाएकामा खुशी व्यक्त गर्दै आगामी दिन पत्रकारको हकहितमा उल्लेखनीय काम हुने विश्वास व्यक्त गर्नुभयो । सूचना विभागका महानिर्देशक वीरबहादुर राईले समितिको काम कारवाही प्रभावकारी बनाउन नेतृत्वले सरोकारवाला संस्थाहरुसँग समन्वय गरी काम गर्नुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य एवं नेपाल प्रेस युनियनका उपाध्यक्ष ईश्वरी ओझा, प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीलगायतले नेतृत्वलाई पत्रकारका हकहितमा दृढताका साथ काम गर्न सुझाव दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभएको थियो । विगत २५ वर्षदेखि निरन्तर पत्रकारिता क्षेत्रमा सक्रिय पराजुलीसँग यस अघि गोरखापत्र दैनिक, कान्तिपुर दैनिक, नेपाल टेलिभिजन, नेपाल समाचारपत्रलगायत विभिन्न राष्ट्रिय र स्थानीय सञ्चारमाध्यममा काम गरेको अनुभव छ । उहाँले नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनको केन्द्रीय उपाध्यक्ष भएर काम गरिसक्नुभएको छ । समितिले सञ्चारकर्मीको पारिश्रमिक निर्धारण तथा पुनरवलोकन गर्ने गर्दछ ।