Uncategorized

महिला र बालबालिका हराउने क्रममा बृद्धि

नवलपरासी , २९ चैत । नवलपरासीबाट महिला र बालबालिका हराउने क्रम बढ्दो छ । चालु आर्थिक वर्षको पहिलो सात महिनामा यो जिल्लाबाट २२१ महिला र बालबालिका हराएका छन् । तीमध्ये १४९ महिला र बालबालिका अज्ञात छन् । बालकको अनुपातमा महिला र बालिका हराउनेको संख्या बढ्दो रहेको एक तथ्याँकले देखाएको छ ।
महिला सशक्तीकरण, बालबालिका बेचविखनविरुद्ध कार्यक्रमले जिल्लामा प्राथमिकता पाउँदासमेत यस्ता घटनाहरुमा भने कमी आउन सकेको छैन । यसले स्थानीय प्रशासन र महिला तथा बालबालिकाका क्षेत्रमा काम गर्ने संघसंस्थालाई चुनौती थपेको छ । गत आर्थिक वर्षमा १२८ महिला, ११ बालक र ३९ बालिका हराएको पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालय अन्तर्गतको महिला सेलले जनाएको छ । तीमध्ये हालसम्म ७३ महिला, ९ बालक र २९ बालिका फेला परेका छन् । गत वर्ष सबैभन्दा बढि चैत महिनामा १८ महिला हराएका थिए भने तीमध्ये १५ जना फेला परेका थिए ।
यस्तै असोज र कात्तिकमा ६ बालिका हराएकोमा हालसम्म एक जना पनि फेला परेका छैनन् भने कात्तिकमा दुई बालक हराएकोमा अझै उनीहरुको अवस्था थाहा नभएको जिल्ला प्रहरी कार्यालय नवलपरासीको तथ्यांकमा उल्लेख छ । यस्तै चालु आर्थिक वर्षको माघसम्म ४८ जना महिला तथा बालबालिका हराएको उजुरी परेको छ । तीमध्ये ३१ महिला, ६ बालक र ११ बालिका रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । तीमध्ये ९ महिला र एक बालिका अझै अज्ञात रहेको बताइएको छ ।
हराएको सूचीमा सबैभन्दा बढी महिला, बालिका र बालक रहेका छन् । हराएको भनिनेमध्ये अधिकांश महिला र बालिका भागी विवाह गर्ने र अधिकांश बालक परिवारबाट पीडित भएको भन्दै आफूखुशी घर छाड्ने गरेको बताइएको छ । यस्तै बालक हराउने विषयमा परिवारबाट आफू पीडित भएको गलत मनोविज्ञानको असरले उनीहरु घर छाडेर हिँड्ने गरेको बताइन्छ । यसबारे महिला तथा बालबालिका कार्यालय नवलपरासीकी प्रमुख उर्वरा लुईटेलले खुल्ला सीमानाका कारण कतिपय महिला तथा बालबालिका बेचबिखनमा पर्ने गरेकाले उनीहरु फेला नपरेको बताउनुभयो ।
आफूखुशी घर छाडेर जाने गरेका कारण परिवारलाई तत्काल जानकारी नहुँदा व्यक्ति हराएको भन्ने निवेदन कार्यालयमा आउने गरेकाले पनि हराउनेको सख्या बढि देख्ने गरेको प्रहरीको भनाई छ । यद्यपि हराएको भनेर जिल्ला प्रहरी कार्यालय नवलपरासीमा परेको निवेदनमध्ये गत वर्षकै हालसम्म फेला नपरेकाले उनीहरुको अवस्था चिन्ताजनक हुनसक्ने र अुनसन्धान तथा खोजी कार्य निरन्तर भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
हराएका भन्ने संख्यामा सबैभन्दा बढी महिला छन् । वैदेशिक रोजगारीमा गएकामध्ये केहीका श्रीमती परपुरुषसँग विवाह गरेर गएकाले तत्काल हराएको निवदेन आउँदा हराएको संख्यामा नाम दर्ता हुने गरेको छ । त्यस्तै बालिकाको हकमा उनीहरुले मोबाइल फोन, समाजिक सञ्जाललगायतबाट चिनजान भएको युवाहरुसँग परिवारलाई जानकारी नै नदिई घर छाडेर विवाह गर्दा बालिकाको संख्या हराएको सूचीमा पर्ने गरेको बताइएको छ ।