अर्थ

पर्यटन व्यवसायमा शुभ संकेत नयाँ वर्षमा दोब्बर पर्यटक

रत्ननगर, चितवन, ३ वैशाख । नयाँ वर्ष लागेसँगै जिल्लाको पर्यटन व्यवसायमा शुभ संकेत देखिएको छ । यस पटक नयाँ वर्षमा विगतभन्दा दोब्बर बढी पर्यटक सौराहा भित्रिएका छन् । “नयाँ वर्षमा उल्लेख्य पर्यटक आएका छन्, आगामी दिनमा पर्यटकको आगमन राम्रै हुने छ,” क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष सुमन घिमिरेले भन्नुभयो । उहाँका अनुसार २०७५ सालमा २० प्रतिशत पर्यटक बढ्ने आशा पलाएको छ । गत वर्ष करीब १० हजार पर्यटक भित्रिएका र होटलमै बास बस्ने पर्यटक अनुमानित ६ हजार रहेको घिमिरेले बताउनुभयो । “विगतमा व्यवसायी चुके, अब प्रवद्र्धनमा तात्नुपर्छ,” उहाँले भन्नुभयो । विक्रम संवत्को नयाँ वर्षमा सौराहाका होटलमा पर्यटक खचाखच भरिएका छन् । यसपाली सौराहालाई पर्यटक धान्नै मुस्किल भयो । राति कोठा नपाएर फर्कने पर्यटक थुप्रै थिए । एउटै कोठामा म्याट थपेर पनि पर्यटक सुताउनुपरेको अनुभव सुनाउनुहुन्छ होटल पार्क साइडका सञ्चालक शीरलाल परियार । नयाँ वर्ष शुरु हुनु तीन दिन अघिदेखि नै सौराहामा पर्यटक भरिएका थिए ।

नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको रत्ननगरस्थित सौराहा हो । विगतमा यहाँ करीब एक लाख ५० हजार पर्यटक आउँथे । यस वर्ष एक लाख ८० हजार पर्यटक भित्र्याउने लक्ष्य रहेको र यसका लागि व्यवसायी पर्यटन प्रवद्र्धनमा लाग्नुपर्ने घिमिरेको भनाइ छ । शान्ति, सु–व्यवस्था, स्थिरता र मुग्लिन सडकमा विगतभन्दा सास्ती कम भएकाले पनि विभिन्न जिल्लाबाट सौराहा घुम्न पर्यटक आउन थालेका छन् । यसपटक नेपाली नयाँ वर्षमा विदेशी पर्यटक ३० प्रतिशत थिए । अरु सबै आन्तरिक पर्यटक भरिएका थिए ।

रेष्टुराँ एण्ड बार एशोसिएसन नेपाल(रेवान) सौराहाका अध्यक्ष गोकर्ण गिरी यसपटक विगतभन्दा बढी पर्यटक सौराहा भित्रिएकाले नयाँ वर्ष पर्यटन व्यवसायीका लागि सुखद हुने बताउनुहुन्छ । सौराहामा सुविधायुक्त होटल ११० वटा छन् । अन्य साना होटल पनि सञ्चालनमा छन् । ठूला होटलको क्षमता दैनिक करिब तीन हजार पर्यटक अट्ने छ । “दैनिक पाँच हजारसम्म पर्यटक राख्न सकिन्छ,” गिरीले भन्नुभयो । सौराहामा आउने पर्यटक हात्ती सफारी, जिप सफारी र डुङ्गा सफारी गर्छन् । थारु संस्कृतिमा पर्यटक रमाउँछन् । उनीहरु चितवन निकुञ्जमा गैंँडा, चित्तल, हात्ती, जरायो, बाघ, गौरीगाई, भालुलगायत वन्यजन्तु अवलोकन गरेर रमाउँछन् ।

बढी पर्यटक भित्रिएको वर्ष–२०७४ :  हालसम्मकै उच्च संख्यामा पर्यटक भित्र्याएको वर्षका रुपमा विसं २०७४ दर्ज भएको छ । लामो समयदेखिको पर्यटक बढाउने विभिन्न प्रवद्र्धनात्मक अभियानका कारण २०७४ सालमा १० लाख पर्यटकले नेपाल भ्रमण गरे । यसले पर्यटन क्षेत्रका लागि निकै ठूलो उत्साह फैलाएको छ । नेपाल पर्यटन बोर्डको विवरणअनुसार विसं २०७४ अर्थात् सन् २०१७ मा १० लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल आएका थिए । सरकारले सन् १९९८ लाई ‘भिजिट नेपाल’का रुपमा आयोजना गरेर १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । सन् २०१२ मा आठ लाखको हाराहारीमा विदेशी पर्यटकले नेपालको भ्रमण गरेका थिए भने सन् २०१६ मा साढे सात लाख पर्यटक आएका थिए ।
सीमित पूर्वाधार र विभिन्न अस्थिरताबीच पनि उल्लेख्य संख्यामा पर्यटक बढ्नुले पर्यटन क्षेत्रमा ठूलो उत्साह जगाएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी बताउनुहुन्छ । पूर्वाधारको कमीका साथै यही वर्ष सम्पन्न भएका तीन तहका (स्थानीय निकाय, प्रदेश र प्रतिनिधिसभा) निर्वाचन तथा अस्थिर सरकार हुँदा पनि विदेशी पर्यटक बढेकाले सरोकारवाला निकायमा उत्साह पैदा गरेको उहाँको भनाइ छ ।
पर्यटन विभागका महानिर्देशक दिनेश भट्टराईले समग्रमा वर्ष २०७४ निकै उत्साह र उपलब्धिमूलक भएको बताउनुभयो । विसं २०७४ मै निर्वाचनमार्फत स्थिर सरकार गठन भएको छ । यसले पर्यटन व्यवसायमा आशा जगाएको छ । यसै वर्ष पर्यटन क्षेत्रमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका ‘इभेन्ट’ कार्यक्रम भए । यसबाट बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्न मद्दत पुग्यो । पर्यटन क्षेत्रको हालसम्मकै ठूलो इभेन्ट ‘हिमालयन ट्राभल मार्ट–२०१७’ काठमाडौँ सम्पन्न भयो । नेपाल पर्यटन बोर्डको सहयोगमा प्यासिफिक एशिया ट्राभल एसोसिएसन (पाटा नेपाल च्याप्टर) ले आयोजना गरेको मार्टमा ठूलो संख्यामा विदेशी पर्यटन व्यवसायीको सहभागिता थियो ।
समग्र पर्यटन प्रवद्र्धनको जिम्मा लिएको नेपाल पर्यटन बोर्डले पनि २०७४ मा आफ्नो प्रवद्र्धनात्मक अभियानलाई फरक शैलीमा तीव्रता दिनुले पनि पर्यटनमय वर्षका रुपमा स्थापित गरेको छ । बोर्डले २०७४ सालबाटै विद्युतीय बजार ‘डिजिटल मार्केटिङ’, शुरु गरेको छ भने मौसमकेन्द्रित पर्यटनलाई बाह्रै महिना बनाउनका लागि अभियान थालेको छ । वर्षा, जाडो र गर्मीलाई प्रवद्र्धन गरी पर्यटक आकर्षण गर्ने योजनाअनुरुप अभियान चलाइएको बोर्डका प्रमुख कार्यकारी अधिकृत जोशीले बताउनुभयो ।
होटल एशोसिएसन अफ नेपाल (हान)का महासचिव विनायक शाह पनि समग्रमा वर्ष २०७४ पर्यटनका लागि उत्साहवद्र्धक भएको स्वीकार्नुहुन्छ । उहाँका अनुसार पर्यटक आगमनको दृष्टिकोणलाई मात्रै विश्लेषण गर्दा पनि २०७४ साल पर्यटनमय बन्न पुगेको छ जुन पर्यटनका लागि निकै उत्साहपूर्ण छ ।
तीन महिनामै तीन लाख पर्यटक : सन् २०१८ को तीन महिनामा विभिन्न मुलुकबाट हवाईमार्ग हुँदै करीब तीन लाख पर्यटक नेपाल आएका छन् । अध्यागमन विभागको पछिल्लो विवरणअनुसार जनवरी, फेब्रुअरी र मार्चमा दुई लाख ८६ हजार ८८२ पर्यटक नेपाल आए । सबैभन्दा बढी चीनबाट ४० हजार पर्यटक आएका छन् । भारतबाट ३४ हजार पर्यटक नेपाल आएका छन् । यो सन् २०१७ को पहिलो तीन महिनाको तुलनामा ११.४ प्रतिशतले बढी हो ।
वर्षको शुरुवातमा पर्यटकको उल्लेख्य आगमनले पर्यटनमा थप उत्साह जगाएको हानका महासचिव शाहले बताउनुभयो । पदयात्रा र पर्वतारोहणको मुख्य याममा अहिले उल्लेख्य संख्यामा आरोही तथा पदयात्री विभिन्न मुलुकबाट आएका छन् । यस याममा पनि ६० प्रतिशतभन्दा बढी होटल बुकिङ रहेको र यो अझै बढ्ने महासचिव शाहको भनाइ छ ।
ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नवराज दाहाल वर्ष २०७४ पर्यटक आगमनका हिसाबले सफल मानिए पनि अझै गुणस्तरीय पर्यटक भित्र्याउन पूर्वाधार विकास र प्रवद्र्धनका कामलाई तीव्रता दिनुपर्ने खाँचो औँल्याउनुहुन्छ । विसं २०७४ को शुरुवाती चरणमा बढेको पर्यटकको संख्या र स्थिर सरकार गठनपछि देखिएको उत्साहले पर्यटन क्षेत्रमा सकारात्मक असर पर्ने तथा २०७५ सालमा ठूलो संख्यामा पर्यटक भित्रने अनुमान गरिएको उहाँले उल्लेख गर्नुभयो ।
६४९ आरोही हिमाल आरोहणमा : वसन्त ऋतुको यस याममा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न हालसम्म ६४९ आरोही आएका छन् । पर्यटन विभागको विवरणअनुसार हालसम्म ७६ वटा आरोहण समूहका ६४९ आरोहीले हिमाल आरोहणको अनुमति लिएका छन् । यीमध्यै ३६ वटा समूह सगरमाथा आरोहणका लागि छन् । यसमा ३२ विदेशी र चार नेपाली समूह रहेको विभागका महानिर्देशक दिनेश भट्टराईले जानकारी दिनुभयो । उहाँले अझै धेरै आरोही आउनेक्रम जारी रहेकाले यस वर्ष आरोहीको संख्या उत्साहजनक हुने अनुमान गरिएको बताउनुभयो ।