सो अभियानअन्तर्गत अहिलेसम्म ३०० बढी चालक कारवाहीमा परेको महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी खाली भएर पनि यात्रु चढाउन नमान्ने १८९ जना चालकलाई कारवाही गरिएको छ । यस्तै भाडा मोलमोलाइ गर्ने ९८ जना, मिटर बिगार्ने र प्रयोजनविपरीत प्रयोग गर्ने २० जनालाई कारवाही गरिएको सापकोटाले बताउनुभयो । मङ्सिर महीनाभरिमा भने ७६५ ट्याक्सी चालक कारवाहीमा परिसकेको उहाँको भनाइ छ ।
निलम्बन प्रक्रियामा भने मङ्सिर २० गतेपछिको कारवाहीमा परेका ट्याक्सी चालकमा मात्र लागू हुनेछ । पाँच पटकभन्दा बढी नियम उल्लङ्घन गर्नेको अनुमतिपत्र नै निलम्बन हुने गरी विशेष अभियान शुरु गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तको भनाइ छ ।
उनीहरुलाई सादा पोशाकमा खटिएका प्रहरीले पहिचान गरी जरिवाना तिराएर अभिलेख राख्न थालिएको छ । अभियानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा ५० भन्दा बढी सादा पोशाकका ट्राफिक प्रहरी परिचालन गरिएको छ । पहिचान हुने बित्तिकै उनीहरुलाई महाशाखामा ल्याइने, रु तीन हजार जरिवाना तिराइने र उनीहरुको अभिलेख राखिनेछ । लगातार पाँच पटकसम्म रु तीन हजारका दरले जरिवाना लाग्ने र त्यसपछि अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभागमा सिफारिश गरिने प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।-रासस
Add Comment