समाचार

पूर्वप्रधानमन्त्री गिरीको निधन :  प्रधानमन्त्री ओलीद्वारा श्रद्धाञ्जलि

काठमाडौँ ।  पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको आज बिहान बूढानीलकण्ठस्थित सिद्धार्थ कोलनीमा रहेको आफ्नै निवासमा निधन भएको छ । कलेजोको क्यान्सरको उपचार गराइरहनुभएका पूर्वप्रम गिरीको आज बिहान ६ बजे ९३ वर्षको उमेरमा निधन भएको उहाँका श्रीमती सराह गिरीले जानकारी दिनुभयो । सन् १९६० देखि सन् २००५ सम्म सक्रिय राजनीति गर्नुभएका गिरी पछिल्लो समय मुटु रोगबाटसमेत पीडित हुनुहुन्थ्यो ।

विश्वेश्वरप्रसाद कोइरालाको मन्त्रिमण्डलमा सदस्यका रुपमा काम गर्नुभएका गिरीले प्रधानमन्त्री र तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा मन्त्रिपरिषद्को उपाध्यक्ष भई काम गर्नुभएको थियो । उहाँको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आज निवासमै राखिने र बुधबार पशुपतिमा अन्त्येष्टि गरिने श्रीमती गिरीले जानकारी दिनुभयो । उहाँका श्रीमती, दुई छोरा र चार छोरी हुनुहुन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले केहीबरअघि ट्विट गर्दै पूर्वप्रम गिरीको निधनको खबरले आफूलाई दुःख लागेको र यस घडीमा स्व गिरीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ । पूर्वप्रम गिरीको आज बिहान उहाँकै निवास बूढानीलकण्ठमा ९३ वर्षको उमेरमा निधन भएको हो ।