समाचार

वाइडबडी विमान खरिद : संसदीय समिति गठनको माग

काठमाडौँ ।  प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद डा अमरेशकुमार सिंहले सरकारले दुईवटा वाइडबडी विमान खरीद गर्दा सार्वजनिक खरीद ऐन र नियमावलीका प्रावधानको पालना नगरेको आरोप लगाउनुभएको छ । उहाँले वाइडबडी विमान खरिद गर्दा सम्झौता भएको कम्पनी एक महीनापछि मात्र दर्ता भएको प्रमाण फेला परेकाले संसदीय समिति गठन गरी छानबिन गर्न माग गर्नुभयो । सांसद पम्फा भुसालले कर्मचारीले खटाएको स्थानमा जानुपर्ने उल्लेख गर्नुहँुदै वृत्ति विकासमा असर पर्ने गरी गरिएको व्यवस्था संशोधन गर्न माग गर्नुभयो । सांसद विमलप्रसाद श्रीवास्तवले स्थानीय तहका कर्मचारीलाई पन्छाएर विकास निर्माणका काम हुन नसक्ने बताउनुभयो ।

बैठकमा सांसद मेटमणि चौधरीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सबैको उपचार हुने र अन्यत्र जानु नपर्ने आशा गरिएकामा केही कर्मचारीको दादागिरीले अस्पतालको अवस्था नाजुक बनेको बताउनुभयो । निःशुल्क श्ययाको समेत शुल्क निर्धारण गरिएको, कर्मचारीले साउनदेखि तलब नपाएकामा उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद उमेश श्रेष्ठले राष्ट्रिय शिक्षा आयोगले निजी विद्यालयलाई बेवास्ता गरेको, सरकारले शिक्षामा कम लगानी गरेको, देशभर ६० हजार शिक्षक उपलब्ध हुन नसकेकाले शिक्षाको गुणस्तर खस्किएको बताउनुभयो । सांसद विमला विकले झापामा चिया उद्योग गरिरहेका साना किसानलाई समेट्न वैज्ञानिक चिया नीति बनाउन माग गर्नुभयो । सांसद गजेन्द्र महतले संसद्का कर्मचारीले दिएको सूचनाका आधारमा सञ्चारमाध्यमले सांसदका बारेमा समाचार प्रकाशित गरेको बताउनुभयो । -रासस