वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा सुरक्षा र मानवीय सङ्कट बढेको बताउनुभएको छ । बढ्दो मानवीय तथा आप्रवासी सङ्कट समाधान गर्न मेक्सिकोसँगको सिमानामा पर्खाल निर्माणका लागि बजेटको व्यवस्था गर्नुपर्ने विषयमा विवाद उत्पन्न भएपछि राष्ट्रपति ट्रम्पले राष्ट्रका नाममा सम्बोधन गर्नुभएको हो । अमेरिकी संसदले पर्खाल निर्माण कार्य “अनावश्यक र बढी खर्चिलो” भन्दै राष्ट्रपति ट्रम्पले माग गर्नुभएको करिब ६ अर्ब अमेरिकी डलर पारित नगरेपछि बजेटमाथिको विवाद कायमै छ । राष्ट्रपतिले बजेट पारित नभए बजेट नै स्वीकृत नगर्ने अडान राख्नुभएको छ ।
संसद र राष्ट्रपतिका अडानका कारण विगत १८ दिनदेखि सङ्घीय कार्यालयहरु बजेट अभावमा आंशिक बन्द भएका छन् । करिब ८ लाख कर्मचारीलाई बिदामा पठाइएको छ । राष्ट्रपति ट्रम्पले मङ्गलबार राष्ट्रपतिको कार्यालय ओभल अफिसबाट देशवासीको नाममा दिनुभएको टेलिभिजन सम्बोधनमा भन्नुभयो, यो सङ्कट हृदयको अनुभव हो, त्यसैले समाधानका लागि उचित उपायको विकल्प छैन, यो सबैको सङ्कट हो ।
सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले दक्षिणी सीमाबाट अमेरिका प्रवेश गर्ने आप्रवासीका कारण अमेरिकी समाजमा विकृति र विसंगति निम्तिएको, हत्याहिंसा बढेको, लागूऔषध भित्रिएको, अमेरिकी नागरिकको रोजगारी खोसिएको लगायतका समस्या देखिएको बताउनुभएको छ । विगतको तुलनामा केही नरम देखिएका राष्ट्रपति ट्रम्पले भन्नुभयो, “मैले संसदका नेताहरुलाई छलफलका लागि भोलि नै ह्वाइट हाउसमा आमन्त्रण गरेको छु । आशा गर्दछु, राष्ट्रिय सुरक्षाका सन्दर्भमा हामी राजनीतिक स्वार्थभन्दा माथि उठ्न सक्षम हुनेछौं । यो परिस्थितिको अन्त्य ४५ मिनेटको छलफलबाटै हुन सक्दछ ।”
मेक्सिकोसँगको सीमामा पर्खाल लगाउनु नै उत्तम हुने कुरामा जोड दिँदै राष्ट्रपति ट्रम्पले यस पर्खालको निर्माणबाट मात्रै अमेरिकी सीमाको सुरक्षा हुने दाबी गर्नुभयो । राष्ट्रपतिको सम्बोधन लगत्तै टेलिभिजनमार्फत् सम्बोधन गर्दै विपक्षी डेमोक्र्याटिक पार्टीका नेताहरूले अमेरिकी सङ्घीय कार्यालयहरु बन्द राखेर नागरिकलाई बन्धक बनाएको बताउनुभयो ।
अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसी र माथिल्लो सदन सिनेटमा अल्पमतका नेता चक सुमरले पर्खालका लागि राष्ट्रपतिले माग गर्नुभएको रकम अनावश्यक रहेको दाबी गर्नुभयो । दुबै नेताले राष्ट्रपतिले तत्काल सङ्घीय कार्यालयहरु खुला गर्नेतर्फ कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
Add Comment