अन्तराष्ट्रिय

एचआईभी सङ्क्रमित अर्का एक व्यक्ति रोगमुक्त

पेरिस  । प्राणघातक एड्स रोग लगाउने एचआईभी–१ भाइरसबाट पीडित अर्का एक व्यक्ति रोगमुक्त भएका छन् । अनुसन्धाताहरुले उनीमाथिको उपचार रोकिएको र सम्भवतः निको भएको जनाएका छन् । पेरिसमा आयोजना गरिने एक चिकित्सा सम्मेलनमा मङ्गलबार यस अद्भूत कार्यका बारेमा घोषणा गरिँदैछ । एचआईभी–सङ्क्रमित ती व्यक्तिलाई दश वर्षपछि रोगमुक्त भएको घोषणा गरिएको हो । उनलाई “लन्डन बिरामी” को उपनाम दिइएको छ । विगत १९ महिनादेखि उनको शरीरमा एचआईभी नपाइएको नेचर नामको जर्नलमा समाचार छ । दश वर्षअघि पनि यस्तै एक व्यक्तिलाई रोगमुक्त रहेको घोषणा गरिएको थियो ।

रगतको क्यान्सर उपचारका लागि बिरामीको हड्डीको मासी (बोन म्यारो) प्रत्यारोपण गरिएको थियो । एचआईभी सङ्क्रमण नहोस् भन्नका लागि दाताबाट प्राप्त मूल कोशिका (स्टेम सेल्स) लाई पनि जेनेटिक उपचार गरिएको थियो । “उपचार सफल देखिएकाले बर्लिन बिरामीको पनि सफल उपचार हुनेछ,” क्याम्ब्रिज विश्वविद्यालयका प्रोफेसर एवं मुख्य लेखक रवीन्द्र गुप्ताले बताउनुभयो ।

विश्वमा लाखौं मानिस एचआईभीबाट पीडित छन् । लाखौं बिरामीले एन्टीरेट्रोभाइरल थेरापी (एआरभी) औषधि सेवन गरिरहेका छन्, तर कुनै पनि बिरामी पूर्ण रुपमा निको हुन सकेका छैनन् । “अहिले, एचआईभीको उपचार गर्ने एकमात्र विधि औषधि सेवन मात्र हो जसले भाइरसको फैलावटलाई रोक्दछ । र यो औषधि बिरामीले आजीवन सेवन गर्नु पर्दछ ।” गुप्ताले भन्नुभयो । “यसले विकासशील मुलुकहरुलाई ठूलै चुनौती सिर्जना गरिरहेको छ । यी देशमा अझै पनि धेरै मानिसले पर्याप्त उपचार प्राप्त गर्न सकेका छैनन् ।”

एक अनुमान अनुसार विश्वमा हाल ३ करोड ७० लाख मानिसमा एचआईभी छ, तर करिब ५९ प्रतिशतले मात्र एआरभी सेवन गर्न पाएका छन् । एचआईभीसँग सम्बन्धित कारणहरुबाट बर्सेनि झण्डै १० लाख मानिसको मृत्यु हुने गरेको छ । एचआईभीकै स्वरुपमा एउटा नयाँ औषधि–प्रतिरोधी परिस्थिति सिर्जना भइरहेको वैज्ञानिकहरुको भनाई छ । गुप्ता र उहाँको टोलीले हड्डीको मासी (बोन म्यारो) प्रत्यारोपण उपचार विधि एचआईभी उपचारका लागि उपयुक्त विकल्प नरहेको पनि बताएको छ । यो विधि निकै डरलाग्दो र पीडादायी हुने गर्दछ । तर यो प्रत्यारोपणले विज्ञानिकहरुलाई उपचारमा नयाँ खोज गर्न र सानोभन्दा सानो विधिबाट बिरामीको उपचार गर्न सकिने बाटो देखाउने गुप्ताको भनाई छ । -रासस/एएफपी