इस्लामाबाद । पाकिस्तानको राजधानी इस्लामाबादस्थित एक सरकारी अस्पतालको प्रसूति तथा बाल स्वास्थ्य वार्डमा भीषण आगलागी हुँदा १४ नवजात शिशुको मृत्यु भएको छ।
बुधबार बिहान सबेरै पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (पिम्स) अस्पतालको आमा तथा बाल स्वास्थ्य इकाइमा आगलागी भएको हो। घटनाका बेला वार्डमा रहेका १५ नवजात शिशुमध्ये एक जनालाई मात्र बचाउन सकिएको बताइएको छ।
प्रारम्भिक जानकारीअनुसार अस्पताल भवनको तेस्रो तलामा रहेको एयर कन्डिसनिङ युनिटबाट आगो सुरु भएको थियो। आगलागी भएपछि अस्पताल परिसरमा त्रास फैलिएको थियो भने बिरामी तथा उनीहरूका परिवारजनले ज्यान जोगाउन हतारहतार बाहिर निस्किएका थिए।
घटनाका प्रत्यक्षदर्शीले धुवाँ फैलिन थालेपछि नवजात शिशुलाई लिएर वार्डबाट बाहिर निस्किएको बताएका छन्। केही आमाले सोही रात मात्र बच्चा जन्माएको अवस्थामा आगलागी भएको थियो।
घटनाप्रति पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले गहिरो दुःख व्यक्त गरेका छन्। उनले घटनाको तत्काल अनुसन्धान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री कार्यालयका अनुसार घटनापछि संघीय स्वास्थ्य सचिव असलम गौरीलाई निलम्बन गरिएको छ। आगलागीको कारण तथा घटनामा हुन सक्ने लापरबाहीबारे अनुसन्धान अघि बढाइएको छ।
पाकिस्तानमा पछिल्ला वर्षहरूमा ठूला आगलागीका घटनाहरू दोहोरिँदै आएका छन्। कमजोर सुरक्षा व्यवस्था, भवन निर्माणसम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयन नहुनु तथा लापरबाहीलाई यस्ता घटनामा उच्च क्षति हुनुका प्रमुख कारणका रूपमा चर्चा गरिँदै आएको छ।