अन्तराष्ट्रिय

मेक्सिकोमा फेरि पत्रकार मारिए, तीन महिनामा तीन पत्रकारको हत्या

मेक्सिको । मेक्सिकोमा फेरि एकजना पत्रकारको हत्या भएको समाचार छ । शनिबार ती पत्रकारलाई आफ्नै घरमा गोली हानी हत्या गरिएको अधिकारीले जनाएका छन् । यस वर्ष अर्थात गएको तीन महिनामा मात्र मेक्सिकोमा तीन जना पत्रकारको हत्या भएको छ । यसबाट मेक्सिकोमा पत्रकारको सुरक्षाको अवस्था निकै दर्दनाक बन्न पुगेको बताइएको छ । शनिबार मारिएका पत्रकार स्यान्टियागो ब्यारोसहित यस वर्ष मेक्सिकोमा तीन जना पत्रकार मारिएका समाचारमा जनाइएको छ । मेक्सिकोमा गएको सात वर्षमा कम्तीमा पनि १०० जना पत्रकार मारिएका छन् ।

यहाँ हुने राजनीतिक भ्रष्टाचार र लागू औषधको कारोबार गर्ने भूमिगत गिरोह तथा तस्करबाट यहाँका पत्रकार असुरक्षित हँुदै गएको सरोकारवालाको भनाइ छ । सान लुइस रियो कोलोराडो नगरमा ती पत्रकार बसोबास गर्दै आएका थिए । सो नगरका मेयर सान्टोस् गोन्जालेजले पत्रकार स्यान्टियागोको हत्याको निन्दा गर्नुभएको छ । पत्रकारको हत्याबाट आफू निकै दुःखी भएको उहाँले बताउनुभएको छ । उक्त नगर संयुक्त राज्य अमेरिकाको सीमा क्षेत्रबाट नजिक पर्दछ । मेक्सिकोका राष्ट्रपतिको कार्यालयका प्रवक्ता जिउज रामिरेजले पत्रकारमाथि हुदै आएका यस्ता हत्याका घटना नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथिकै हनन् हो भन्नुभएको छ । पत्रकार हत्याको यस घटनाप्रति उहाँले दुःख व्यक्त गर्नुभयो ।

पत्रकार स्यान्टियागोलाई गएको शुक्रबार मध्यराति आफ्नै निवासमा पुगी गोली प्रहार गरिएको थियो । सो प्रहारबाट सख्त घाइते भएका उहाँलाई अस्पताल पु¥याएको भएपनि बाटोमै मृत्यु भएको बताइएको छ । उहाँ ४७ वर्षका हुनुहुन्थ्यो । ती पत्रकारको हत्याका लागि दुई अज्ञात व्यक्ति उनको निवासमा आएका थिए । ती व्यक्तिले पत्रकारको ढोका ढकढकाएका र ढोका खुलेपछि उनीमाथि तीन गोली वर्षाइएको थियो । पत्रकार स्यान्टियागो सो नगरमा लागूऔषधको अवैध ओसार पसार गर्ने गिरोहका विरुद्धमा समाचार ‘स्टोरी’हरु गर्ने गरेको स्थानीय पत्रकारले जनाएका छन् ।

उनीहरुका अनुसार ती पत्रकारको हत्यामा पति यसै काममा संलग्न व्यक्तिको हात रहेको हुन सक्दछ तर यस विषयमा प्रहरीले भने केही बताएको छैन । प्रहरीले हत्याको अनुसन्धान थालिएको बताएको छ । यसअघि गएको फेब्रुअरी ९ मा पनि मेक्सिकोको एक सामुदायिक रेडियोका समाचारदाताको हत्या भएको थियो । सन् २०१२ देखि २०१८ सम्म मात्र यहाँका १०२ जना पत्रकारको हत्या भएको थियो । ती पत्रकारका हत्यारा पत्ता लगाई उनीहरुलाई कडाभन्दा कडा कारबाही गर्न यहाँका पत्रकारले माग गर्दै आएका छन् तर पत्रकारका हत्याराको कारबाही भने हुने गरेको छैन ।-रासस/एएफपी