अन्तराष्ट्रिय

महिला पत्रकारको हत्या अभियोगमा हिन्दुबादी नेता पक्राउ

नयाँदिल्ली, १९ फागुन । चर्चित एक महिला पत्रकारको हत्यामा संलग्न भएको अभियोगमा भारतीय प्रहरीले एक राजनितीज्ञलाई पक्राउ गरेको छ । उहाँको हत्यारालाई कारबाही गर्न माग गर्दै गत बर्ष केहीदिन देशैभरी विरोध प्रदशर्न भएको थियो । भारतीय महिला पत्रकार ५५ बर्षीया गौरी लंकेश भारतको हिन्दु राष्ट्रवादको चर्को आलोचक हुनुुहन्थ्यो । सन् २०१७ को सेम्टेम्बर ५ तारिखका दिन उहाँलाई कर्नाटक राज्यको राजधानी बेङगालुरुस्थित आफ्नै घर बाहिर गोली हानी हत्या गरिएको थियो ।
हेलमेटसहित मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरुले उहाँलाई गोली प्रहार गरेका थिए । हत्यारा खोज्नका लागि खटाइएको विषेश टोलीले शुक्रबार के.टी. नविन कुमारलाई पक्राउ गरेको अधिकारीहरुले जनाएका छन् । पक्राउ परेका व्यक्ति स्थानीय हिन्दुवादी नेता रहेको प्रहरी अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।