एपी, वासिङ्टन । आर्कटिकबाट आएको घातक चिसो हावाका कारण अमेरिकाका अधिकांश क्षेत्रको तापक्रम शून्यभन्दा तल पुगेको छ । हिमपातका कारण देशका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ । खराब मौसमका कारण सोमबार २९०० भन्दा बढी उडान रद्द भएका छन् । यससँगै देशका अधिकांश क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको छ भने राष्ट्रिय फुटबल लिग (एनएफएल) पनि स्थगित भएको छ ।
मेरिल्याण्डका राष्ट्रिय मौसम सेवा मौसमविद् ज्याक टेलरले आइतबार बिहान उत्तरी र उत्तरपूर्वी मोन्टानामा –६.७ डिग्री सेल्सियस र –४० डिग्री सेल्सियसको तापक्रम रेकर्ड गरिएको बताएका छन् । धेरै शहरहरूमा हिउँ आँधी र भारी हिमपातको डर व्यक्त गर्दै, टेलरले मानिसहरूलाई आफ्नो घरबाट बाहिर ननिस्कन सल्लाह दिएका छन् । टेलरले आगामी दुई दिनमा देशको राजधानी वासिङ्टन डिसीमा भारी हिमपात हुने भविष्यवाणी गरेका छन् ।
खराब मौसमका कारण शिकागो, पोर्टल्याण्ड, डेनभर, डलास जस्ता सहरमा विद्यालय बन्द गर्न आदेश दिइएको छ । टेक्सासमा रेकर्ड कम तापक्रमको कारण, राज्यको पावर युटिलिटीले उपभोक्ताहरूलाई ऊर्जा बचत गर्न आग्रह गरेको छ ।
Add Comment