मुंबई (महाराष्ट्र) मंसिर ९ । भारतको दोस्रो ठुलो राज्य महाराष्ट्रमा बीजेपी गठबन्धन (महायुती) को सरकार बन्ने तयारीमा छ । जनादेश आइसकेको छ । महाराष्ट्र विधानसभाको निर्वाचन पछि कोही नतिजामा खुसी छन् त कोही आँसु बगाइरहेछन् । कतिपयले चुनावी नतिजालाई अप्रत्याशित र चकित पार्ने मानिरहेका छन् । चुनावी परीक्षामा उत्तीर्ण र फेल भएका कतिपय उम्मेदवारहरू पनि आफ्नो जित वा हारको सानो अन्तरले आश्चार्य चकित भएका छन् ।
महाराष्ट्रमा १४८ सिटमा चुनाव लडेको भाजपाले १३२ सिट जितेर इतिहास रचेको छ । एकनाथ शिन्देको शिवसेनाले ८० सिटमा उम्मेदवारी दिएर ५७ सिटमा विजय प्राप्त गरेको छ । यसैबीच, अजित पवारको एनसीपीले ४१ सिट जितेर आफ्ना राजनीतिक विपक्षीहरूलाई सखाप पारेको छ ।
विगत २०२२/२०२३ देखि वर्तमान महाराष्ट्रका मुख्यमंत्री एकनाथ शिंदे र उद्धव ठाकरेबीच वास्तविक शिवसेना पार्टी कसको भन्ने घमासान चलिरहेको थियो । त्यस्तै राष्ट्रिय काँग्रेस (एनसीपी) का शरद पवार र अजित पवारमा पनि वास्तविक राष्ट्रिय काँग्रेस (एनसीपी) कसको भन्ने घमासान चलिरहेको थियो । सबैले आ–आफ्नु दावी गरिरहेका बेला भएको विधानसभा निर्वाचनमा शानदार जितका साथै शिन्दे र अजित पवार दुवैले आफूहरू शिवसेना र एनसीपीका वास्तविक उत्तराधिकारी हुन् भनेर स्पष्ट पार्न सफल भएकाछन् ।
त्यसैगरी महाविकास अघाडीमा (एमबीएचए) को कुरा गर्दा कांग्रेसले सबैभन्दा बढी १०२ सिटमा चुनाव लडे पनि १६ सिटमा मात्रै चित्त बुझाउनु परेको छ । त्यसमा केही कुरा यस्ता पनि थिए कि मतान्तर अलि कम भएको भए काँग्रेसका प्रदेश अध्यक्ष नाना पटोलेले समेत साकोली सिट गुमाउने थिए ।
Add Comment