Home » Sample Page » पाकिस्तानः खैबर पख्तुनख्वामा दुई समुदायबीच द्वन्द्व, शिया–सुन्नी द्वन्द्वमा ३७ जनाको मृत्यु, सयभन्दा बढी घाइते
अन्तराष्ट्रिय

पाकिस्तानः खैबर पख्तुनख्वामा दुई समुदायबीच द्वन्द्व, शिया–सुन्नी द्वन्द्वमा ३७ जनाको मृत्यु, सयभन्दा बढी घाइते

खैबर पख्तुनख्वा (पाकिस्तान) मंसिर ९ । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा भएको ताजा साम्प्रदायिक हिंसामा कम्तीमा ३७ जनाको मृत्यु भएको छ भने १०३ जना घाइते भएका छन् । मृतकको संख्या लगातार बढिरहेको छ । पाकिस्तानमा शिया र सुन्नीबीच बढ्दो द्वन्द्वले दिनहुँ मानिसको ज्यान लिइरहेको छ । हिंसाको यो पछिल्लो घटना शिया समूहको आक्रमणको प्रतिक्रिया हो । जसमा बिहीबार पाराचिनारबाट जाँदै गरेको यात्रुवाहक भ्यानमा अज्ञात बन्दुकधारीले आक्रमण गरी ४७ सिया मुस्लिमको हत्या गरेका थिए ।

जानकारी अनुसार, शनिबार बिहान कुर्रम जिल्लामा ताजा साम्प्रदायिक झडप सुरु भयएको थियो, जसमा भारी हतियारका साथ ठूलो संख्यामा बन्दुकधारीहरूले नजिकैका गाउँहरूलाई निशाना बनाएका थिए । गाउँहरू भग्नावशेषमा परिणत भएका छन् भने घर, बजार र सरकारी भवनमा आगो लगाइएको थियो ।

कुर्रम जिल्लाका एक अधिकारीका अनुसार “आक्रमण शिया आतंकवादी समूह जैनाबियुनले गराएको थियो, जसले बिहीबार शियाहरूको हत्याको बदला लिने वाचा गरेको थिए । त्यसपछि उनका मानिसहरूले गाउँमा आक्रमण गरे र सबै जलाएका थिए । मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।” नरसंहारका एक प्रत्यक्षदर्शीले पुष्टि गरे अनुसार उनले कम्तीमा छ आक्रमणकारीहरूको जलेको शव पनि देखेका थिए ।

रिपोर्टहरूका अनुसार आक्रमणकारीहरूले महिलाहरूलाई पनि अपहरण गरेका छन् र जिल्लाका शिया र सुन्नी सम्प्रदायका जनजाति अग्रजहरूले आक्रमणलाई तीव्र पार्न सन्देशहरू पठाएका छन् । कुर्रम जिल्लाका कम्तीमा पनि तीन स्थानबाट झडप भइरहेका छन् भने कोहट जिल्लाबाट थाल–सदा–पराचिनार राजमार्ग बन्द छ ।

जारी झडप तीव्र बन्दै गएपछि खैबर पख्तुनख्वा (केपी) को प्रान्तीय सरकारको एक प्रतिनिधिमण्डल कानून र व्यवस्थाको अवस्थाको समीक्षा गर्न पेशावरबाट कुर्रम जिल्लाको लागि प्रस्थान गरेको छ । हेलिकप्टरमा खैबर पख्तुनख्वाका कानुनमन्त्री, मुख्य सचिव र प्रहरी महानिरीक्षक सम्मिलित सरकारी प्रतिनिधिमण्डल सवार थियो ।

प्रतिनिधिमण्डलले कुर्रम जिल्लामा स्थानीय प्रशासनलाई भेटे, तर फर्कने क्रममा हेलिकप्टरमाथि गोली प्रहार भएको बताइएको छ । तर, हेलिकप्टर सकुशल पेसावर अवतरण गर्न सफल भएको थियो । कुर्रम जिल्लाको अवस्था झन् गम्भीर बन्दै गएको छ । पछिल्लो ४८ घण्टामा सुन्नी र शिया साम्प्रदायिक भिडन्तमा करिब १०० जनाको मृत्यु भएको छ भने २ सय जना घाइते भएका छन् । कुर्रम जिल्लामा साम्प्रदायिक हिंसाको इतिहास छ । प्रान्तीय गभर्नर फैसल करिम कुण्डीका अनुसार सेप्टेम्बरमा भएका छुट्टाछुट्टै घटनामा दुवै सम्प्रदायका कम्तीमा ६० जनाको मृत्यु भएको थियो ।

शिया बहुल पाराचिनार क्षेत्रमा शुक्रबार भएको प्रदर्शनका क्रममा प्रहरीको गाडी र सुरक्षा चौकीमा आगजनी गरिएको थियो । साथै ढुङ्गा र टायर बालेर सडक अवरुद्ध गरिएको थियो । पाराचिनार यसअघि पनि सुन्नी बाहुल्य क्षेत्रमा हिंसात्मक झडपको सिकार भएको थियो । पाराचिनारका प्रदर्शनकारीहरूले खराब अवस्था, खाद्यान्न, औषधि, इन्धन र अक्सिजनको अभावमा अफगानिस्तानसँगको सीमा तत्काल खोल्न माग गरेका छन् ।

शिया संगठन र राजनीतिक दल मजिस वाहदत मुस्लिमीन (एमडब्ल्यूएम) ले असुरक्षित सडकका कारण पाराचिनार विमानस्थल सञ्चालन गर्न र पीआईए वा वायुसेनाको विमानबाट पाराचिनारदेखि पेशावरसम्म निःशुल्क शटल सेवा सुरु गर्नुपर्नेलगायतका केही मागहरू सरकारसमक्ष राखेका छन् ।

आन्दोलनकारीले आफ्ना मागलाई प्रदेश र केन्द्र सरकारले बेवास्ता गरे मानवअधिकार संगठन र संयुक्त राष्ट्र संघको सहयोग लिन बाध्य हुने चेतावनी दिएका छन् । (आईएएनएस)