अन्तराष्ट्रिय

पाकिस्तानमा ठूलो दुर्घटनाः सुफी सन्तको दरगाहमा भागदौड, ८० श्रद्धालु घाइते, दुई जनाको अवस्था गम्भीर

लाहौर, पाकिस्तान । पाकिस्तानको पञ्जाब प्रान्तबाट दुखद खबर घटना घटेको छ । पाकपट्टन शहरमा रहेको एक प्रसिद्ध सुफी सन्तको दरगाहमा मानिसहरू “स्वर्गको ढोका“ (बहिष्टी दरवाजा) बाट जान हतार गर्दा भागदौड मच्चिएको थियो । दुर्घटनामा महिला र बालबालिका सहित कम्तिमा ८० जना घाइते भएका प्रहरीले मंगलबार आधिकारिक रूपमा घटनाको पुष्टि गरेको छ । लाहोरबाट करिब २०० किलोमिटर टाढा रहेको पाकपट्टन शहरमा हजरत बाबा फरीद गंज शकरको ७८४ औं उर्स (मृत्यु वार्षिकोत्सव) को समयमा आइतबार दुर्घटना भएको थियो ।

प्रत्यक्षदर्शीहरू र सीसीटीभी फुटेजका अनुसार, जब सरकारी काफिलालाई जान अनुमति दिन दरगाहको मुख्य ढोका खोलियो, हजारौं भक्तजनहरू “बहिष्ठी ढोका“ तिर दौडे । भीडलाई नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गर्यो, तर स्थिति नियन्त्रण गर्न सकेन । दुर्घटनाको खबर पाउने बित्तिकै पञ्जाब आपतकालीन सेवा घटनास्थलमा पुगेकोथियो । यद्यपि, भारी भीड र ट्राफिक जामका कारण एम्बुलेन्सहरू घटनास्थलमा पुग्न सकेनन्, जसले गर्दा उद्धारकर्मीहरूले घाइतेहरूलाई आपतकालीन मोटरसाइकलमा अस्पताल पु¥याउन बाध्य भएकाथिए । अत्यधिक गर्मी, निसास्सिने र भीडभाडका कारण, लगभग दुई दर्जन भक्तजनहरू घटनास्थलमै बेहोस भएका थिए ।

प्रहरी अधिकारी जावेद चड्ढाले पत्रकारहरूलाई बताएअनुसार ८० जना घाइतेमध्ये ३० जनालाई गम्भीर चोटपटक लागेर अस्पताल भर्ना गरिएको छ । दुई जना भक्तजनको अवस्था गम्भीर छ भने बाँकीलाई घटनास्थलमै प्राथमिक उपचार गरिएको छ । प्रशासनले मन्दिर वरिपरि सुरक्षा कडा पार्दै १,६०० भन्दा बढी प्रहरी कर्मचारी खटाएको छ ।