विविध

बागलुङका किशोर लजिन थापा हत्या प्रकरणमा चार जना पक्राउ

काठमाडौं । बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापाको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार साउन १ गते राति लजिन थापा आफ्ना साथी असिम वनको जन्मदिन मनाउन दगातुन्डाँडा प्राथमिक विद्यालय पुगेका थिए। त्यहाँ लजिनसहित सात जना साथीहरूले राति करिब १०:३० बजेदेखि बिहान ३ बजेसम्म मादक पदार्थ सेवन गरेका थिए।

साउन २ गतेदेखि लजिन सम्पर्कविहीन भएपछि उनका परिवारले इलाका प्रहरी कार्यालय गलकोटमा खोजतलासका लागि निवेदन दिएका थिए। त्यसपछि गण्डकी प्रदेश प्रहरी कार्यालयको प्राविधिक टोली, तालिमप्राप्त कुकुर, ड्रोन क्यामेरा तथा स्थानीयवासीको सहयोगमा व्यापक खोजी तथा अनुसन्धान गरिएको थियो।

साउन ९ गते बिहान बडिगाड गाउँपालिका–१ स्थित मनखोलाको खोल्सामा लजिनको शव फेला परेको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका लागि धौलागिरी प्रादेशिक अस्पताल, बागलुङमा राखिएको छ।

घटनामा संलग्न रहेको आरोपमा सुदिप विक, रेमबहादुर विक, ददी परियार र असिम वनलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका अनुसार आइफोनको विषयमा भएको विवादपछि भएको कुटपिटका क्रममा लजिनको मृत्यु भएको खुलेको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।