अन्तराष्ट्रिय

पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

पेरु । दक्षिण अमेरिकी मुलुक पेरुमा बिहीबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार भूकम्प स्थानीय समयअनुसार दिउँसो १ बजे पेरुको अनिसोबाट करिब १९ माइल (झण्डै ३० किलोमिटर) उत्तरपश्चिम क्षेत्रमा केन्द्रबिन्दु बनाएर गएको हो।

भूकम्पको धक्का महसुस भएपछि मानिसहरू घर तथा भवनबाट बाहिर निस्केर सडकमा पुगेका थिए। पेरुको भूभौतिक संस्थानका प्रमुखले प्रारम्भिक विवरणअनुसार ठूलो क्षतिको संकेत नदेखिएको बताएका छन्।

पेरुको नागरिक सुरक्षा निकायका एक अधिकारीका अनुसार भूकम्पको केन्द्रबिन्दु आसपासको क्षेत्र कम जनघनत्व भएको छ। त्यस क्षेत्रमा भूकम्पबाट भएको सम्भावित क्षतिको वास्तविक अवस्था पत्ता लगाउन केही समय लाग्न सक्ने अधिकारीहरूले बताएका छन्।

भूकम्पपछि सोही क्षेत्रमा थप कम्पनसमेत महसुस गरिएको छ। प्रारम्भिक भूकम्पपछि आउने यस्ता कम्पनलाई सामान्यतया परकम्प (Aftershock) भनिन्छ। मुख्य भूकम्पका कारण चिरामा आएको परिवर्तनपछि आसपासको भूभागमा हुने साना समायोजनका कारण परकम्प आउने गर्छन्।

परकम्प केही दिन, हप्ता वा वर्षसम्म पनि आउन सक्ने र कतिपय अवस्थामा प्रारम्भिक भूकम्पकै बराबर वा त्यसभन्दा ठूलो शक्तिका हुन सक्ने वैज्ञानिकहरूले बताएका छन्। यसले पहिल्यै क्षति पुगेका क्षेत्रमा थप जोखिम निम्त्याउन सक्छ।

भूकम्पसम्बन्धी थप तथ्यांक तथा भौगर्भिक विवरणको अध्ययन जारी रहेकाले यसको म्याग्निच्युड र प्रभावसम्बन्धी विवरण पछि परिमार्जन हुन सक्ने अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।