Home » Sample Page » पाँचथरमा ४८ वर्षीय पुरुषको शंकास्पद मृत्यु, दुई जना पक्राउ
विविध

पाँचथरमा ४८ वर्षीय पुरुषको शंकास्पद मृत्यु, दुई जना पक्राउ

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आहाले सिरानमा ४८ वर्षीय इन्द्रकुमार दमाई मृत अवस्थामा फेला परेको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

भदौ २० गते भईन्द्र राईको पाखाबारीमा दमाई मृत अवस्थामा फेला परेका थिए। घटनाको जानकारी पाएलगत्तै प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको घाँटीमा कपडाको सलको पासो रहेको तथा शरीर र निधारमा धारिलो वस्तुले प्रहार गरेको जस्तो चोट देखिएको प्रहरीले जनाएको छ। घटनास्थल र शवको प्रकृति शंकास्पद देखिएपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा दमाईलाई आफ्नै घरमा बन्चरो प्रहार गरी हत्या गरेको र त्यसपछि शव घरनजिकैको आल्चाको रुखमा झुण्ड्याएर करिब ५०० मिटर तल भिरपाखामा फालेको खुलेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले परिवर्तित नाम ०२–०८३/०८४–०४ र कानुनको विवादमा परेका बालक परिवर्तित नाम ०२–०८३/०८४–४(अ) गरी दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीले घटनामा प्रयोग भएको भनिएको बन्चरो तथा दाउसमेत बरामद गरेको जनाएको छ। पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पाँचथरमा ल्याई जिल्ला अदालत फिदिमबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।