काठमाडौं । बारा र काठमाडौंमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जना चालकको मृत्यु भएको छ।
बाराको जितपुरसिमरा उपमहानगरपालिका–७ छातापिप्रास्थित आर्मी ब्यारेक अगाडि पथलैया–वीरगञ्ज सडकखण्डमा बुधबार बिहान बोलेरो पिकअप दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।
पथलैयाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना.५ च २२७७ नम्बरको कुखुरा बोक्ने खाली पिकअप बिहान करिब ८:१५ बजे अनियन्त्रित भई डिभाइडरमा ठोक्किएको थियो। त्यसपछि डिभाइडर पार गर्दै सडकको दाहिनेतर्फ पल्टिँदा पर्साको वीरगञ्ज महानगरपालिका–३० प्रोसतिपुरका २२ वर्षीय जैमुदिन अंसारी घाइते भएका थिए।
घाइते अंसारीलाई उपचारका लागि एलएस न्युरो अस्पताल परवानीपुर लगिएकोमा बिहान ८:४५ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
यस्तै, काठमाडौंको चन्द्रागिरी नगरपालिका–५ हिमाल पम्प नजिकै ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
नागढुंगाबाट कलंकीतर्फ जाँदै गरेको बा.प्र.०८–००१ख–०३९७ नम्बरको ग्यास सिलिन्डर बोकेको ट्रक मंगलबार राति करिब ८:१४ बजे अनियन्त्रित भई सडकमा पल्टिएको थियो।
दुर्घटनामा महोत्तरीको बर्दिबास नगरपालिका–३ घर भएका करिब ५० वर्षीय तोना बहादुर कार्की घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि एपीएफ अस्पताल बलम्बु लगिएकोमा राति १०:०५ बजे उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
प्रहरीले दुवै घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।








Add Comment