मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–९, भाबरबाट प्रहरीले १६२ किलो ७९४ ग्राम अवैध लागुऔषध गाँजासहित दुई जना चालकलाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलीले २३ गते राति करिब २:४५ बजे भाबरस्थित भित्री सडकखण्डमा सवारीसाधन चेकजाँच गर्ने क्रममा गाँजा बरामद गरेको हो।
प्रहरीका अनुसार भाबरबाट खरङ्गातर्फ आउँदै गरेको बा.प्र.०१–०२५ च ०८७७ नम्बरको कार र ग २ च ६१५ नम्बरको पिकअप गाडीलाई चेकजाँचका लागि रोक्न खोज्दा पिकअप चालकले गाडी भगाउन खोजेका थिए। प्रहरीले उक्त पिकअपलाई नियन्त्रणमा लिएपछि कारसमेत चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा कारको सिटमा प्लास्टिकले बेरेर लुकाइराखिएको १३ वटा पोकाबाट १६२ किलो ७९४ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीले कार चालक चितवनको माडी नगरपालिका–५ धोबाहा बस्ने ५६ वर्षीय देव नारायण महतो र पिकअप चालक भरतपुर महानगरपालिका–२४ बस्ने ४८ वर्षीय टेकबहादुर दोङलाई पक्राउ गरेको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा पिकअप चालकले अगाडि रहेको कारलाई स्कर्टिङ गर्दै लैजाने गरेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीले गाँजा, दुवै चालक तथा दुवै सवारीसाधन नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मनहरीमा राखेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।








Add Comment