नुवाकोट । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि अवरुद्ध बनेको नुवाकोटको देवीघाट क्षेत्रमा नेपाली सेनाले जडान सुरु गरेको एक्रो ब्रिजको काम हिजो सम्पन्न भएको छ।
नेपाली सेनाले पाँच दिनअघि सुरु गरेको पुल जडानको काम निरन्तर खटिएर पूरा गरेको हो। पुल जडान सम्पन्न भएपछि देवीघाट हुँदै आवतजावत गर्ने स्थानीयवासी तथा यात्रुलाई ठूलो राहत मिलेको छ।
नयाँ पुलबाट आजदेखि पैदलयात्रीका लागि आवतजावत खुला हुने र भोलिदेखि सवारीसाधनसमेत सञ्चालनमा आउने भएको छ।
यसअघि भोटेकोशीको बाढीले देवीघाटमा रहेको पक्की पुल बगाएपछि नुवाकोट र आसपासका क्षेत्रको यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो।
नेपाली सेनाले छोटो समयमै वैकल्पिक पुल जडान गरेपछि स्थानीयवासी, व्यापारी तथा यात्रुलाई आवतजावतमा सहज हुने भएको छ। पुल सञ्चालनमा आएपछि बाढीका कारण प्रभावित बनेको यस क्षेत्रको यातायात सम्पर्कसमेत सामान्य बन्ने अपेक्षा गरिएको छ।








Add Comment