राष्ट्रिय कर दिवसमा साताव्यापी कार्यक्रम सुरु, १९ उत्कृष्ट करदाता सम्मानित

राष्ट्रिय कर दिवसमा साताव्यापी कार्यक्रम सुरु, १९ उत्कृष्ट करदाता सम्मानित

काठमाडौं । राष्ट्रिय कर दिवसको अवसर पारेर सरकारले कर प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्यसहित साताव्यापी कार्यक्रम सुरु गरेको छ। करको दायरा विस्तार, करदाता शिक्षा अभिवृद्धि तथा डिजिटल कर सेवाको प्रयोग बढाउने उद्देश्यले आजदेखि विभिन्न कार्यक्रम सञ्चालनमा ल्याइएको हो।

दिवसका अवसरमा आन्तरिक राजस्व विभागमा आयोजित विशेष कार्यक्रममा कर क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने १९ व्यक्ति तथा संस्थालाई सम्मान गरिएको छ। विभिन्न विधामा उत्कृष्ट कर योगदान गर्ने करदातालाई सम्मान गर्दै सरकारले कर प्रणालीमा उनीहरूको योगदानको कदर गरेको हो।

यस वर्ष राष्ट्रिय कर दिवस ‘कर न्याय र सुशासनको सुनिश्चितताः समृद्धिमा नागरिक सहभागिता’ भन्ने मूल नाराका साथ मनाइँदै छ। साताव्यापी कार्यक्रमअन्तर्गत करदाता सम्मानका अतिरिक्त प्रभातफेरी, शुभकामना आदानप्रदान, निजी क्षेत्रसँग अन्तरक्रिया तथा करदाता शिक्षासम्बन्धी गतिविधि सञ्चालन गरिने विभागले जनाएको छ। विभागअन्तर्गतका कार्यालयहरूले पनि आफ्नो कार्यक्षेत्रभित्रका तीन–तीन जना करदातालाई सम्मान गर्ने कार्यक्रम राखेका छन्।

कार्यक्रममार्फत करको दायरा बढाउने, करसम्बन्धी विभिन्न स्किमको कार्यान्वयनबारे जानकारी गराउने तथा डिजिटल माध्यमबाट कर सेवा लिन प्रोत्साहित गर्ने योजना छ। वस्तु तथा सेवा खरिदबिक्री गर्दा अनिवार्य रूपमा बिल लिने र दिने संस्कृतिको विकासका लागि पनि प्रचारप्रसार गरिनेछ। करसम्बन्धी जानकारी सर्वसाधारणसम्म पुर्‍याउन काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सचेतनामूलक डिस्प्ले बोर्डसमेत राखिनेछ।

त्यसैगरी, शैक्षिक परामर्श तथा ओभरसिज सेवा प्रदान गर्ने कम्पनीलाई लक्षित गरी विशेष कार्यक्रम सञ्चालन गरिने भएको छ। उद्योग वाणिज्य संघहरूसँग सहकार्य गरेर कर सचेतना अभियान अघि बढाउने तथा स्थानीय तह र कोष तथा लेखा नियन्त्रक कार्यालयका कर्मचारीलाई राजस्वसम्बन्धी प्रशिक्षण दिने कार्यक्रम पनि समावेश गरिएको छ।

सरकारले करलाई राज्य निर्माण र विकास प्रक्रियामा नागरिकको प्रत्यक्ष सहभागिताका रूपमा लिएको छ। कर प्रशासनलाई भ्रष्टाचारमुक्त, पारदर्शी, सरल र प्रविधिमैत्री बनाउँदै करदाताले बुझाएको करको प्रतिफल नागरिकले अनुभूत गर्न सक्ने वातावरण निर्माण गर्ने लक्ष्यसमेत अघि सारिएको छ।

यो समाचारलाई प्रतिक्रिया दिनुहोस्

Leave a Reply