काठमाडौं । देशका विभिन्न चार जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा मोटरसाइकल, माइक्रोबस र ट्याक्टर संलग्न रहेका छन्।
झापाको अर्जुनधारामा मोटरसाइकलबाट खसेर घाइते भएका २७ वर्षीय सन्त राईको उपचारका क्रममा मृत्यु भएको छ। मंसिर १३ गते राति करिब १०:४० बजे अर्जुनधारा नगरपालिका–७ पिपल चोकस्थित होम्समा मोटरसाइकलले ब्रेक लगाउने क्रममा पछाडि सवार राई लडेका थिए। उनलाई उपचारका लागि बिर्तासिटी अस्पताल लगिएको थियो। मंसिर १६ गते साँझ ७:१५ बजे उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै, सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेमा माइक्रोबस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। मंसिर १८ गते दिउँसो करिब २ बजे अनियन्त्रित भएको माइक्रोबस सडकबाट करिब २० मिटर तल अधेरी खोलाको बगरमा खसेको थियो। दुर्घटनामा चालकसहित १५ जना घाइते भएका थिए। घाइतेमध्ये धनुषाका तीन वर्षीय ओम साह र ४३ वर्षीय प्रमोदकुमार धामीलाई हेलिकप्टरमार्फत ललितपुरस्थित बीएण्डबी अस्पताल पुर्याइएको थियो। अस्पतालमा जाँच गर्दा साँझ ६ बजे चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए।
मुस्ताङको लोमान्थाङ गाउँपालिका–२ छोसेरस्थित जोमसोम–कोरोला सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षीय नवाङ गुरुङको मृत्यु भएको छ। मंसिर १८ गते राति करिब १०:१५ बजे उनले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो। घाइते गुरुङलाई छोसेर स्वास्थ्य चौकी हुँदै प्रदेश अस्पताल जोमसोम लगिएकोमा मंसिर १९ गते बिहान ३:१५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
रुपन्देहीको सम्मरीमाई गाउँपालिका–७ भैसगनमा ट्याक्टरबाट खसेर तीन वर्षीया इकरा मुसलमानको मृत्यु भएको छ। मंसिर १८ गते साँझ करिब ६:३० बजे खेत जोत्न प्रयोग भइरहेको ट्याक्टरमा बसेकी बालिका अचानक खसेर ट्याक्टरमा जडान गरिएको रोडा बेटरमा परेकी थिइन्। घटनामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टरका धनी बेलाल मुसलमान विदेशमा रहेकाले फोनमार्फत ट्याक्टर चलाउन बोलाएका व्यक्तिले खेत जोतिरहेका थिए। ती व्यक्तिको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको छ।