काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले नेपालमा पछिल्ला वर्षहरूमा देखिएका विपद्का घटनाले पूर्वतयारी, उत्थानशील पूर्वाधार र संस्थागत क्षमता विकासमा लगानी बढाउनुपर्ने आवश्यकता देखाएको बताएका छन्।
कोप–३१ का क्रममा एसियाली विकास बैंक (एडीबी) ले आयोजना गरेको उच्चस्तरीय छलफलमा बोल्दै उनले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका कार्यक्रम स्थानीय तहसम्म प्रभावकारी रूपमा पुर्याउनुपर्नेमा जोड दिए।
स्थानीय सरकार र विपद् व्यवस्थापन समितिलाई जिम्मेवार तथा सक्षम नबनाए केन्द्रबाट मात्रै विपद् व्यवस्थापनका सबै गतिविधि सञ्चालन गर्न कठिन हुने उनको भनाइ थियो। विपद्को जोखिम र असर प्रत्यक्ष रूपमा स्थानीय समुदायले भोग्ने भएकाले तयारी, प्रतिकार्य र व्यवस्थापनमा स्थानीय तहको क्षमता अभिवृद्धि गर्नुपर्ने उनले बताए।
डा. उप्रेतीले विपद् आउनुअघि नै स्रोत सुनिश्चित गर्ने पूर्वनिर्धारित वित्तीय व्यवस्था, सूचकमा आधारित बीमा र पूर्वानुमानका आधारमा वित्तपोषण गर्ने प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने धारणा राखे। जोखिम प्रतिरोधी संरचना निर्माणका लागि पूर्वाधार निर्माण संहिताको कार्यान्वयनलाई पनि प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।
पर्वतीय मुलुकका लागि जलवायु उत्थानशीलता वातावरण संरक्षणमा मात्र सीमित नरहेको उल्लेख गर्दै उनले यसलाई जनधन र जीविकोपार्जनको सुरक्षा, विकासका उपलब्धि जोगाउने तथा जोखिममा रहेका समुदायको भविष्य सुनिश्चित गर्ने आधारभूत आवश्यकताका रूपमा व्याख्या गरे।
नेपालले पछिल्ला विपद्बाट प्राप्त अनुभवलाई उपयोग गर्दै दीर्घकालीन पूर्वतयारी र दिगो वित्तीय संयन्त्र निर्माणमा ध्यान दिनुपर्ने उनले बताए।
कोप–३१ मा सहभागी भएर डा. उप्रेती आज नेपाल फर्किएका छन्। स्वदेश फर्किएलगत्तै उनले नियमित कार्यभार सम्हालेका छन्।