Home » Sample Page » क्युबामा भएको विमान दुर्घटनामा सयजना भन्दा बढीको ज्यान गयो, सन् १९८० को दशकयताकै खराब दुर्घटनाका कारण क्युबा शोकमा
अन्तराष्ट्रिय

क्युबामा भएको विमान दुर्घटनामा सयजना भन्दा बढीको ज्यान गयो, सन् १९८० को दशकयताकै खराब दुर्घटनाका कारण क्युबा शोकमा

हवाना, ५ जेठ ।  ल्याटिन अमेरिकी देश क्युबामा शुक्रबार अपरान्ह एक विमान दुर्घटनाग्रस्त भएको छ । सो दुर्घटनामा परी १०० जनाभन्दा बढीको ज्यान गएको छ । क्युबाको राजधानी हवानामा रहेको एउटा अन्तर्राष्ट्रिय विमानस्थलको नजिकै सो विमान दुर्घटनाग्रस्त भएको हो । यसमा परी १०१ जना यात्रुको मृत्यु भएको छ भने दुर्घटनामा तीनजना बाँच्न सफल भएका छन् ।
मृत्यु हुने यात्रुहरुमा अधिकांश क्युबाली र केही मेक्सिकन पनि रहेका बताइएको छ । उक्त जहाजमा रहेका चालक दलका सदस्यहरुको पनि ज्यान गएको छ । तर जिवीत ३ जना पाइएकोले ती तीन जना चालक दलका सदस्य हुन् वा यात्रु भन्ने बारेमा अझै खुलेको छैन। जिवीत तीन जनाको अवस्था भने अत्यन्तै गम्भीर छ । जहाज उडेको एकैछिनमा नै खसेको थियो । उडेलगत्तै जहाजको इन्जिनमा समस्या देखिएपछि खसेको र बाँझो जमिनमा परेको थियो ।
जहाज उडेको केही क्षणमा समस्या देखिएको र तत्कालै विमानस्थलभन्दा केही परको बाँझो जमिनमा धस्सिएको थियो । जहाज धस्सिएपछि धुँवाको ठूलो मुस्लो देखिएको र त्यसलगत्तै उद्धारको कार्य सुरु भएको थियो । क्युबाको राजधानी हवानाको होसे मार्टी विमानस्थलबाट उडेको बोइङ ७३७ मा समस्या देखिएको थियो । समस्या बारे कुनै पनि पूर्व सूचना प्राप्त नभएको उड्डयन अधिकारीहरुले जनाएका छन् ।
उद्धार कार्यमा तत्कालै स्थानीय वासिन्दा र आपत्कालीन उद्धारकर्मीहरू खटिएका थिए । परिचालित सबै जनाले उद्धारको काम थालेको भए पनि जहाजमा आगो लागेकोले समयमै विमानबाट यात्रुहरुलाई बाहिर निकाल्न नसकिएको अधिकारीहरुले जनाएका छन् । क्युबाका उड्डयन अधिकारीहरुले विमानमा १०४ यात्रु रहेको जनाएका छन् । त्यस विमानमा चालक दलका पाँचजना सदस्य सवार रहेको बताएका छन् । चलक दलका सदस्यमध्ये पनि लगभग सबैजसोले ज्यान गुमाएका छन् र जीवितै उद्धार गरिएका तीन जनालाई अस्पताल भर्ना गरिएको छ ।
उक्त जहाज मेक्सिकोको एक विमान कम्पनीबाट भाडामा लिएर क्युबाले चलाउँदै आएको बताइएको छ । यो विमान क्युबाको सरकारी एयरलान्सको जहाज हो । हवानाबाट उडेको सो विमान क्युबाको पूर्वी भूभागमा पर्ने ओल्गीन शहरतर्फ जान लागेको थियो । क्युबाका उड्डयनमन्त्री र राष्ट्रपतिले दुर्घटनास्थलकोे भ्रमण गर्नुभएको छ । राष्ट्रपति मिगेल डिआस कनेलले मृतकहरुप्रति श्रद्धान्जलि अर्पण गर्दै उनीहरुका आफन्तजनमा समवेदना व्यक्त गर्नुभएको छ ।
उहाँले आपत्कालीन उद्धारमा खटिएका सबै कर्मचारी र सुरक्षाकर्मीलाई चुस्तताका साथ काम गर्न आग्रह गर्नुभएको छ । उहाँले ठूलो संख्यामा मानिसहरूले ज्यान गुमाएकोले देश स्तब्ध भएको बताउनुभयो । सरकार र आफ्नो पार्टीको तर्फबाट उहाँले समवेदना प्रकट गर्नुभएको छ । क्युबामा सन् १९८० को दशकयता पहिलो पटक यो ठूलो र दुःखद दुर्घटना भएको छ । यसलाई देशको उड्डयन इतिहासकै सबैभन्दा खराब हवाई दुर्घटना भनिएको छ ।
यस दुर्घटनाका कारण यसमा परेका क्युबाली परिवारका सदस्य मात्र नभएर सिंगो देश नै शोकमा डुबेका समाचारहरु आइरहेका छन् । उडेलगत्तै कसरी विमान खस्न पुग्यो भन्ने बारेमा अनुसन्धान थालिएको अधिकारीहरूले बताएका छन् । अधिकारीहरुले घटनास्थलमा अनुसन्धान थालेका छन् । निकै लामो समयसम्म उक्त विमानले सेवा दिइरहेको र राम्रो अवस्थामा रहेको विमान के कति कारणले खस्न पुग्यो भन्ने बारेमा चुस्त रुपम अनुसन्धान थालिएको उड्डयन अधिकारीहरुले जनाएका छन् ।-सिन्ह्वा