समाचार

वामपन्थी र प्रजातन्त्रवादी शक्ति मिलेर अघि बढ्नुपर्छ : नेता नेपाल

चितवन, असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालमा समाजवाद स्थापनाका लागि वामपन्थी र प्रजातन्त्रवादी शक्ति मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको अर्धकदको शालिकको आज यहाँ अनावरण गर्नुहुँदै उहाँले निरंकुशतावादी शक्तिको पराजयका लागि वामपन्थी र प्रजातन्त्रवादी शक्ति एकजुट भएर लडेको स्मरण गर्नुभयो ।
पुष्पलालले देखाएको बाटोमा अहिले नेपाल कम्युनिष्ट पार्टी अगाडि बढिरहेको भन्दै यसबाट नेपाललाई समाजवादसम्म सहजै पु¥याउन सकिने बताउनुभयो । नेपाल अब समृद्धितर्फ लाग्ने भन्दै उहाँले गतिशील भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । नेता नेपालले भन्नुभयो, “नदी गतिशील हुन्छ, अनि विद्युत् निस्किन्छ । तर पोखरीको पानी स्थिर हुन्छ, यसबाट कुनै शक्ति निस्किँदैन ।” उहाँले थप्नुभयो “हामी गतिशील हुनुपर्छ, जहाँ शक्ति प्राप्त हुन्छ ।”उक्त शालिक नारायणगढस्थित पुष्पलाल स्मृति प्रतिष्ठानको भवन अगाडि स्थापना गरिएको छ ।