काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ। उपचारका क्रममा मंगलबार जावलाखेलस्थित हेलिअस अस्पतालमा उनको निधन भएको हो।
कांग्रेस केन्द्रीय सदस्य प्रमोदहरि गुरागाईंका अनुसार श्रेष्ठको पार्थिव शरीर बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिनेछ। त्यसपछि शवयात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ।
श्रेष्ठ २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित भएका थिए। यसअघि उनी २०४८, २०५६ र २०६४ सालमा स्याङ्जाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
राजनीतिक जीवनमा उनले उपप्रधानमन्त्री, शिक्षामन्त्री, भौतिक योजना तथा निर्माणमन्त्री, वन तथा भूसंरक्षणमन्त्री र उद्योगमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। कांग्रेसका पूर्वउपसभापतिसमेत रहेका श्रेष्ठ २०१७ सालदेखि प्रजातान्त्रिक आन्दोलनमा सक्रिय रहँदै आएका थिए।








Add Comment