काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले प्रधानमन्त्रीको सार्वजनिक वक्तव्यमाथि प्रतिनिधिसभामा प्रश्न गर्न पाउनुपर्ने अडानलाई यथावत् राखेको छ । काङ्ग्रेस संसदीय दलको आजको बैठकले प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुखले सांसदलाई नियमानुसार प्रधानमन्त्रीको वक्तव्यमाथि संसद्मा प्रश्न सोध्न नदिएको निष्कर्ष निकालेको छ । बैठकले आइतबार जुन प्रक्रियादेखि बैठक अन्त्य गरिएको हो त्यहीँबाट प्रतिनिधिसभाका आगामी बैठक आरम्भ हुनुपर्ने माग गरेको काङ्ग्रेस सचेतक पुष्पा भुसालले बताउनुभयो ।
दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बैठकमा आइतबारको घटनाका सम्बन्धमा विस्तृत जानकारी गराउनुभएको थियो । काङ्ग्रेसले प्रतिनिधिसभा नियमावलीअनुसार सवाल–जवाफ गर्न नपाएको भन्दै आइतबारको संसद् बैठक अवरुद्ध गरेको थियो । काङ्ग्रेसको अवरोधका बाबजुद सभामुखले संसद् बैठक प्रक्रिया अघि बढाउनुभएको थियो ।
साथै दलको बैठकमा संसद्मा पार्टीको भूमिका थप प्रभावकारी बनाउन छायाँ सरकार गठन गर्ने र सांसदलाई विषयगत जिम्मेवारी तोक्ने विषयमा समेत छलफल भएको थियो । बैठकमा दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाले सरकारका कमीकमजोरी र जनचासोका विषयमा खबरदारी गरिरहन निर्देशन दिनुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक बुधबार दिनको १ बजे बस्दैछ ।-रासस
Add Comment