विविध

काठमाडौँ महानगरको ६५ औँ कार्यपालिका बैठक सम्पन्न : मध्यम दुरीका सवारी स्ट्याण्ड अध्ययनका लागि उपप्रमुखको संयोजकत्वमा समिति गठन

काठमाडौँ । आज काठमाडौँ महानगरको ६५ औँ कार्यपालिका बैठक सम्पन्न भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय ‘मध्यम दूरीका यातायात सञ्चालन सम्बन्धी अध्ययन कार्यदल’ गठन गरेको छ । खुल्ला मञ्चबाट बसपार्क हटाएर गएको बैशाख १६ पछि महानगरले सिटी यातायातलाई ‘पिक एण्ड ड्रप’ गर्न र मध्यम दूरीका यातायातलाई नयाँ बसपार्कबाट सञ्चालन गर्न भनेको थियो । महानगरले यो व्यवस्था कार्यान्वयनमा ल्याएपछि मध्यम दुरीका यातायात व्यवसायीले नयाँ बसपार्क अपायक परेको भन्दै अर्को व्यवस्था नभएसम्म पूर्ववत यातायात सञ्चालन गर्न माग गर्दै आएका छन् । यस ठाउँमा फेरि यातायात फर्काउन नसकिने भएपछि मध्यम दुरीका यातायातका लागि विकल्प अध्ययन गर्न कार्यदल गठन गरिएको बैठकमा प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिनुभयो । यसको विकल्पका रुपमा व्यवसायीले केही विकल्प राखेका छन् । ती विकल्पसहित अध्ययन हुनेछ । प्रमुख शाक्यको भनाइ छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अर्को व्यवस्था नभएसम्मका लागि खुल्ला मञ्चमा साविकबमोजिम बसपार्कका रुपमा प्रयोगका लागि गरेको माग निवेदन सम्बन्धी विषयमा छलफल गर्दै यस्तो निर्णय गरिएको हो । समितिका सदस्यहरुमा वडा २६ का अध्यक्ष ख्याम तिवारी, वडा ३२ का अध्यक्ष नवराज पराजुली, सहरी सुव्यवस्था विभागका प्रमुख ध्रुव काफ्ले र नगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक धनपति सापकोटा हुनुहुन्छ । समितिलाई ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागसहितका सरोकारवाला निकायसँग छलफल गरेर सुझाव दिन ७ दिनको समय दिइएको छ ।

बैठकले सिटी मार्केटमा शिलबन्दी गरिएको ठाउँको आगामी उपयोगका विषयमा छलफल गर्दै, यस अघि मार्केटका विषयमा भएको अध्ययन शिफारिस प्रतिवेदनका आधारमा आगामी १ बर्षका लागि बोलपत्रको सूचना प्रकाशन गर्ने निर्णय गरेको छ । सिटी मार्केट सञ्चालन र राजस्वका विषय बैठकमा जानकारी गराउने अध्यक्ष शाक्यले राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीलाई समय दिनुभएको थियो । त्यस क्रममा डा. अधिकारीले मार्केटमा भएका व्यवसायीले बहाल नतिरेपछि यस प्रकारको समस्या सिर्जना भएको बताउनुभयो ।

उहाँकाअनुसार ०७१ कार्तिक १४ गतेदेखि त्यसअघिका सञ्चालक सुरेन्द्र दाहालसँगको सम्झौता रद्द गरेको थियो । खुल्ला प्रतिस्पर्धाबाट ठेक्का लगाउन महानगरले ०७३ फागुन ४ गते बोलपत्र आव्हान गरेको थियो । त्यसमा कसैको पनि प्रस्ताव दर्ता भएन । ०७५ मंसिर ६ गते बसेको कार्यपालिकाको बैठकले वडाध्यक्ष भाइराम खड्गीको संयोजकत्वमा सुझाव समिति गठन ग¥यो । समितिले न्युनतम एकीकृत अङ्क थ्रेसहोल्ड राखेर ठेक्कामा लगाउने सुझाव दियो । यसअनुसार त्यस बर्ष न्युनतम थ्रेस होल्ड मासिक १८ लाख ८३ हजार कायम भएको थियो ।

त्यस क्रममा डा. अधिकारीले ठूला २३ करदाताको नाम सार्वजनिक भएको र सम्पर्कमा नआए शिलबन्दीको तयारी रहेको बताउनुभएको थियो । त्यसैगरी आकाशे पुलहरुको व्यवस्थापन गर्ने ठेक्केदारले राजस्व नतिरेपछि महानगरले गरेको ताकेतापछि करीब २ करोड रुपैया तिरेको विषय बैठकमा जानकारी गराइएको थियो ।

बैठकमा प्रमुख शाक्यले संयुक्त एम्बुलेन्स चालक संघ भएको कोविडका समयमा भएको सहकार्यका विषयमा जानकारी गराउन सहरी स्वास्थ्य विभागका प्रमुख हरि कुँवरलाई र खुल्ला मञ्चबाट अस्थायी बसपार्क हटाएर सुरु गरिएको ‘पिक एण्ड ड्रप’ कार्यक्रमका विषय र यातायात व्यवसायीसँग भएको छलफलका विषयमा जानकारी गराउन नगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक धनपति सापकोटालाई समय दिनुभएको थियो ।

यी विषयको छलफल विविधमा राखिएको थियो । आजको बैठकमा १६ वटा प्रस्ताव र विविधमा ६ वटा विषय राखिएका थिए । खोप कार्यक्रमका कारण कार्यपालिका सदस्यहरु केन्द्र व्यवस्थापनमा लाग्नु पर्ने भएकोले प्रस्तावहरुमध्ये ‘इन्द्रजात्रा पर्व संरक्षण अक्षय कोष सञ्चालन कार्यविधि — ०७८’ को मस्यौदा मात्र पेश भएको थियो । योसहित विधायन समितिबाट बैठकमा ल्याइएका ६ वटा कार्यविधि आगामी बैठकमा राखिनेछन् ।

आजको बैठकमा अस्वस्थ्यताका कारण उपप्रमुख उपस्थित हुन सक्नु भएन । बैठकमा सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीसहित