विविध

पचली भैरव संरक्षण गुरुयोजना कार्यान्वयन हुन थालेको छ — मेयर शाक्य

काठमाडौँ । पचली भैरव परिसरमा २ वटा फल्चा (पाटी) पुननिर्माणका लागि शिलान्यास भएको छ । बुधबार महानगरका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गर्नुभएको हो । ८९ लाख ५५ हजार लागतमा आउँदो बर्षको जेठ मसान्तभित्र पुननिर्माण सम्पन्न हुनेछ ।
शिलान्यासपछि प्रतिक्रिया दिँदै प्रमुख शाक्यले आफू निर्वाचित भइसकेपछि सम्पदाको मर्मत, सम्भार र पुननिर्माण, संरक्षण, प्रवर्धन र पर्यटनसँग जोड्ने नीतिलाई प्राथमिकतामा राखेर काम थालनी गरेको बताउनुभयो । हामीले पुननिर्माण गरेका सम्पदा जुन समुदायको हो, त्यही समुदायलाई सञ्चालन र व्यवस्थापनका लागि जिम्मा लगाउँछौँ । अहिले पनि त्यही नीतिअनुरुप काम भइरहेको हो । यो हाम्रो अभियान हो । प्रमुख शाक्यको भनाइ थियो ।

वडा १२ सांस्कृतिक वडा हो । पचली भैरव संरक्षणका लागि गुरु योजना बनाएका छौँ । योजनामा सबैको अपनत्व गराउन यस क्षेत्रसँग सम्बन्धित गुठियार र सरोकारवालासँग छलफल गर्दा कार्यान्वयनमा केही ढिलाइ भयो । तर अझ विग्रेको छैन । शाक्यले थप्दै भन्नुभयो, आज फल्चा शिलान्यास गरेपछि गुरुयोजना कार्यान्वयन चरणमा पुगेको अनुभूति भएको छ । यसको पुननिर्माण नमोवुद्ध विल्डर्सले गर्नेछ ।
महानगरले मूर्त सम्पदासँगै अमूर्त सम्पदाको अभिलेखीकरण गर्ने, सांस्कृतिक र सामाजिक चालचलनलाई प्रबर्धन गर्ने, परम्परागत नृत्य, बाजागाजाको संरक्षण र प्रवर्धन गर्ने कामका लागि गुठियारहरुसँग सहकार्य सहकार्य गरिरहेको छ ।